मिति:- २२ जेष्ठ २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

बस्तिपुर मा.बि.मा दलित भएकै कारण सरस्वती पुजाबाट बन्चित।

बस्तिपुर मा विद्यालयका कक्षा ९ मा अध्ययनरत दलित समुदायका विद्यार्थी कृष्ण कुमार रामलाई सरस्वती पूजा समारोहमा बस्न नदिइएको छ।

लहान , सिरहा, माघ २८।। नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसक्दा पनि जातीय भेदभावका घटना रोकिएका छैनन्। कानुनले जातीय भेदभावलाई दण्डनीय ठहर गरे पनि व्यवहारमा अझै पुरानै सोच कायम छ भन्ने उदाहरण सिरहाको लहान नगरपालिका-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा देखिएको छ। सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत दलित समुदायका विद्यार्थी कृष्ण कुमार रामलाई सरस्वती पूजा समारोहमा बस्न नदिइएको छ।

विद्यालयमा हरेक वर्ष कक्षा ९ को प्रथम विद्यार्थीलाई सरस्वती पूजामा अगाडि बसाउने चलन रहँदै आएको थियो। तर यस वर्ष प्रथम स्थान प्राप्त गरेका कृष्ण रामलाई यो अवसरबाट बञ्चित गरिएको छ। विद्यालयको कामले उनी पूजा सुरु हुनु केही अघि मात्र पुगेका थिए। विद्यालय पुगेर उनले पूजा समितिका संयोजक तथा शिक्षक योगेन्द्र यादवलाई सोध्दा ‘पण्डितले मान्दैनन्, तिमी अब बस्न पाउँदैनौ’ भन्ने जवाफ पाएका थिए। त्यतिबेला विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादव पनि उपस्थित थिए, तर उनले कुनै प्रतिक्रिया दिएनन्।

विद्यालय प्रशासनले ढिलो आएका कारण रामलाई बस्न नदिएको बताएको छ। पूजा संयोजक यादवका अनुसार ‘पण्डितलाई हतार भएकाले’ सोही कक्षाका रोल नम्बर ४ भएका विद्यार्थीलाई बसाइएको थियो। तर पीडित विद्यार्थीका अनुसार पहिले नै उनीभन्दा फरक विद्यार्थीका लागि साडी सेट खरिद गरिएको प्रमाण भेटिएको छ। यसबाट उनलाई पूजामा बस्नबाट रोक्ने योजना पहिले नै बनाइएको आशंका गरिएको छ।

विद्यालय व्यवस्थापन समिति सदस्य सरीता रामका अनुसार, विद्यार्थी राम ३-४ मिनेट मात्र ढिलो आएका थिए। पूजामा बस्न नपाए पनि संध्याकालीन आरती र भोलिपल्टको मूर्ति बिसर्जन विद्यार्थी रामकै हातबाट गरिनुपर्ने माग गरिएको थियो। पूजा संयोजक र उपस्थित शिक्षकहरूले पनि यसमा सहमति जनाएका थिए। तर साँझ ५ बजे हुने आरती र मूर्ति बिसर्जनको जिम्मेवारी पनि अन्ततः उनलाई दिइएन।

नेपालको संविधानले जातीय भेदभावलाई कानुनी अपराध मानेको छ। छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले कुनै पनि सार्वजनिक स्थल, धार्मिक वा शैक्षिक संस्थामा जातका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट रूपमा उल्लेख गरेको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत यस्तो घटना दोहोरिनु गम्भीर विषय हो।

कृष्ण कुमार राममाथि भएको विभेदले नेपालमा कानुनले निषेध गरे पनि जातीय भेदभाव पूर्ण रूपमा अन्त्य हुन नसकेको देखाएको छ। शिक्षालयजस्तो निष्पक्ष हुनुपर्ने स्थानमा नै यस्तो घटना हुनु दुःखद कुरा हो। यस विषयमा छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker