मिति:- ३ भाद्र २०८२, मंगलवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

उप-प्रमुख महतोको प्रमुख आतिथ्यमा अपाङ्गता भएका महिलाहरूका लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न।

सितल साह , लहान , सिरहा , ०८२ – साउन १७ ।।“आधारभूत स्वास्थ्य सँगै यौन तथा प्रजनन स्वास्थ्यको अधिकार, हामी सबैको सरोकार!” भन्ने मूल नाराका साथ नेत्रहीन महिला संघ नेपालद्वारा आयोजित एक दिवसीय स्वास्थ्य एवम् प्रजनन स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रम सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका उप-प्रमुख रामचलितर महतोको प्रमुख आतिथ्यमा गरिएको थियो। कार्यक्रममा शारीरिक अपाङ्गता, दृष्टिबिहिन भएका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मूल उद्देश्य अपाङ्गता भएका महिलाहरूमा प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, यौनिकता, आत्मरक्षा र कानूनी पहुँचबारे सशक्तिकरण गराउनु थियो। सहभागी महिलाहरूलाई सुरक्षित मातृत्व, मासिक धर्म स्वच्छता, यौनिक अधिकार, मानसिक स्वास्थ्य तथा आत्मबल विकाससम्बन्धी अभिमुखीकरण दिइएको थियो।

उप-प्रमुख महतोले अपाङ्गता हुनु कुनै अपराध नभएर जीवनको एक अवस्था मात्र भएको बताउँदै अपाङ्गता भएका महिलाहरूले राज्य, समाज र परिवारबाट सम्मान र अवसर प्राप्त गर्नु पर्नेमा जोड दिए। उनले अपाङ्गता भएकाहरूको जीवनमा सबैभन्दा बढी अपहेलन परिवार र समाजबाट हुने बताउँदै, आत्मबल र एकता राख्दै हक अधिकार प्राप्तिका लागि संगठित रूपमा अघि बढ्न आग्रह गरे। उनले स्थानिय सरकारद्वारा प्रदान गरिने सेवा र सुविधाबारे समेत जानकारी गराउँदै, संघसँग समन्वय गरेर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अपाङ्गता तथा दृष्टिविहीन महिलाहरूले भोगिरहेको सामाजिक विभेद, हिंसा र आर्थिक असहजताबारे खुलेर छलफल गरियो। स्वास्थ्य सचेतना, आत्मरक्षा र अधिकारबारे जानकारीमूलक सत्रमार्फत सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरियो। आयोजक संघका अनुसार यस्ता कार्यक्रमहरू सिरहा पश्चात सप्तरी लगायतका जिल्लाहरूमा पनि संचालन हुँदैछन्।

नेपालको जनगणना २०७८ अनुसार हाल देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्, जसमध्ये करिब २ लाख ९६ हजार महिला छन्। दृष्टिविहीन महिलाहरूको संख्या ७४ हजार १ सय ३३ रहेको छ। अपाङ्गता भएका महिलाहरूको अवस्था अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सम्मानको दृष्टिकोणले कमजोर देखिन्छ।

वि.सं. २०६७ सालमा विधिवत रूपमा स्थापना भएको नेत्रहीन महिला संघ नेपाल एक गैरनाफामुखी, गैरराजनीतिक सामाजिक संस्था हो। संघले देशभर दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका महिलाहरूको नेतृत्व विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य, पुनःस्थापना, कानुनी पहुँच र अधिकार प्रवर्द्धनमा काम गर्दै आएको छ। सातै प्रदेशमा प्रादेशिक समिति र १० जिल्लामा शाखा विस्तार गरी हालसम्म ६ हजारभन्दा बढी महिलाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

संघद्वारा हालसम्म नीति पुनरावलोकन, विभिन्न अध्ययन तथा सर्वेक्षण, कानुनी साक्षरता, प्रजनन स्वास्थ्य तथा मनोसामाजिक परामर्श लगायतका कार्यक्रमहरू संचालन गरिँदै आएको छ। भरतपुरस्थित पुनःस्थापना गृहमार्फत दृष्टिविहीन महिलाहरूको सशक्तिकरणमा समेत कार्यरत रहेको संघले दृष्टिविहीन महिलाहरूलाई आत्मनिर्भर र सम्मानित जीवनयापन गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।

संघले यसअघि सातै प्रदेशमा पहुँचयुक्तताको सर्वेक्षण, कोविड–१९ को प्रभाव मूल्याङ्कन, तिलोत्तमा नगरपालिकामा अपाङ्गता भएका महिलाहरूको अवस्था विश्लेषण लगायतका अध्ययन तथा अधिवाचन सम्पन्न गरिसकेको छ। हालसम्म सयौँ महिलाहरूलाई स्वरोजगारका लागि बिउपूँजी तथा तालिम पनि उपलब्ध गराइएको छ।

कार्यक्रममार्फत दृष्टिविहीन महिलाहरूको हक अधिकार सुनिश्चित गर्नका लागि उनीहरूको आवाजलाई मुख्यधारमा ल्याउने प्रयास गरिएको छ। अपाङ्गता मानव विविधताको एक हिस्सा भएकाले सबै तह र क्षेत्रबाट अपाङ्गता भएका महिलाहरूको हक र अधिकारको सुनिश्चितताका लागि सहयोग गर्नुपर्ने सन्देश कार्यक्रमले प्रवाह गरेको छ।

नेत्रहीन महिला संघ नेपालले भविष्यमा पनि यस्ता कार्यक्रममार्फत दृष्टिविहीन महिलाहरूलाई सशक्त बनाउँदै समावेशी र समान समाज निर्माणतर्फ ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button