मिति:- ४ भाद्र २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

ठगी प्रकरणमा लहानका माओवादी नेता विजय गुप्ता पक्राउपछि छुटे,पिडितले न्याय नपाएकाे गुनासाे ।

सितल साह ,लहान सिरहा , असार २७ ।।नेकपा (माओवादी केन्द्र) का पूर्व जिल्ला सदस्य तथा लहान नगरपालिकाका राजनीतिक सल्लाहकार विजय कुमार गुप्ता विरुद्ध ठगी र विश्वासघातको उजुरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढे पनि, पीडित इञ्जिनियर विनित यादव अझै न्यायको प्रतीक्षामा छन्। यादवले गुप्ताविरुद्ध ठगी मुद्दा दायर गरेपछि अनुसन्धानको क्रममा गम्भीर प्रश्न उठाउने घटनाहरू सार्वजनिक भएका छन्।

पीडित विनित यादवका अनुसार २०७६ सालमा विजय गुप्ताले “आईटी प्रोजेक्ट दिलाइदिन्छु” भन्दै २ लाख ९० हजार रुपैयाँ ठगेका थिए। रकम मेगा बैंकमार्फत १ लाख ५० हजार, नगद ५० हजार र वेबसाइट निर्माणका लागि ९० हजार भएको उनले बताए।

रकम बुझाएको ६ वर्ष पुगिसक्दा पनि न काम भयो न पैसा फिर्ता आयो। २०८१ साल चैत २१ गते यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए, जसको आधारमा चैत २२ गते ठगी तथा विश्वासघात मुद्दा नम्बर २८१ दर्ता गरिएको थियो।

२०८२ साल वैशाख १७ गते प्रहरी कार्यालयबाट पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका गुप्तालाई २०८२ असार २३ गते प्रहरीले बिहान लहानबाटै पक्राउ गर्‍यो। तर, पीडित यादवका अनुसार पक्राउपश्चात् गुप्तालाई सोही दिन ६ घण्टामै ‘स्वास्थ्य समस्या’ को बहानामा रिहा गरिएको छ।

यसबाहेक, पीडित यादवले गम्भीर आरोप लगाउँदै भने, “प्रहरीले मेरो अनुमति नै नलिई मेरो प्रभु बैंकको व्यक्तिगत खाताको स्टेटमेन्ट झिकेर गुप्तालाई जमानत दिन प्रमाण बनायो।” यादवका अनुसार प्रहरी अधिकारीहरूले फोनमार्फत भनेका थिए, “हामीसँग तपाईंको खातामा पठाइएको २ लाख ९० हजारको स्टेटमेन्ट र भौचर छ।”

यादवको भनाइ छ— “यो प्रक्रिया गैरकानुनी हो। प्रहरीले ठगी आरोपितको पक्षमा प्रमाण संकलन गर्न पिडितकै बैंकको निजी विवरण दुरुपयोग गर्‍यो।”

गुप्ताले भने आफूमाथिको सबै आरोप अस्वीकार गर्दै, “मलाई प्रहरीले चिया गफ गर्न बोलाएको मात्र हो,” भनेर सार्वजनिक रूपमा मिडियामा प्रतिक्रिया समेत दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले भने, “गुप्ताविरुद्ध आर्थिक लेनदेनसम्बन्धी उजुरी परेको हो, अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।” तर विस्तृत विवरण भने प्रहरी प्रशासनले अहिलेसम्म सार्वजनिक गरेको छैन।

यादवले भने, “६ वर्षसम्म पैसा फिर्ता माग्दा उल्टै गुप्ताले राजनीतिक दबाब दिए, माओवादी नेताहरूलाई प्रयोग गरेर मलाई दवाउन खोजे।” गुप्तामाथिको ठगी प्रकरण सार्वजनिक भए पनि लहान नगरपालिकाले उनलाई अझै राजनीतिक सल्लाहकार पदमा राखेकोप्रति पनि यादव आक्रोशित छन्।

उनले भने, “यस्तो ठगलाई राजनीतिक सल्लाहकार बनाउने नगरपालिकाको निर्णयले आम जनताको विश्वासमा ठेस पुगेको छ। यस्ता व्यक्तिले नगरको नाम भजाएर अझ कति नागरिक ठगेका होलान्?”

यस घटनाले ठगी, राजनीतिक पहुँचको दुरुपयोग, प्रहरी प्रशासनको भूमिका र नागरिकको निजी विवरण संरक्षणबारे गम्भीर बहस जन्माएको छ। पीडित यादव न्यायका लागि अझै संघर्षरत छन्, भने आरोपित गुप्ता राजनीतिक र प्रशासनिक पहुँचको भरमा निर्दोष देखिन प्रयासरत छन्।

अब हेर्न बाँकी छ— जिल्ला प्रहरी सिरहाले कुन पक्षको सत्यलाई मान्यता दिन्छ, र पीडितले आफ्नो २ लाख ९० हजार मात्र हैन, आफूमाथिको अपमान र अन्यायको पनि क्षतिपूर्ति पाउने कि फेरि कानुनी लडाइँ लामो समयसम्म तन्किन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button