लहान नगर प्रमुख र अधिकृत झा मिलेर अकुत भ्रष्टाचार गरेकाे उपमेयर महताेकाे गम्भीर आरोप।।

सितल साह , लहान , सिरहा असार ०२ ।। लहान नगरपालिका अहिले आन्तरिक राजनीतिक झगडा, आरोप–प्रत्यारोप र भ्रष्टाचारको आरोपले तातेको छ। लहान नगरपालिकाका उपमेयर राचलितर महतोले नगर प्रमुख महेश प्रसाद चौधरी र प्रशासकीय अधिकृत जयकान्त झामाथि मिलेमतोमा अकुत भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका छन्।
उपमेयर महतोका अनुसार नगर प्रमुख चौधरीले प्रशासकीय अधिकृत झाको आडमा चीनको निर्माण कम्पनी “चाईना रेलवे” सँग कमिसन लिएर अवैध उत्खननको अनुमति दिएका छन्। पोखरी जस्तो गहिरो खन्दा दिनमा ७ सय भन्दा बढी टिपरमार्फत ढुवानी भएको र यो प्रक्रिया मापदण्डविपरीत भएको उनले बताए। यस्तो अवैध काममा नगरपालिका र अधिकृत झा पूर्ण रूपमा मौन बस्नु र मिलेमतोको आभास हुनु भ्रष्टाचारको स्पष्ट प्रमाण भएको उनले आरोप लगाए।
महतोले चाईना कम्पनीका टीपरहरू समातेर नगरपालिकामा जिम्मा लगाएका थिए, जुन रजस्व नतिरी सञ्चालन भइरहेको थियो। केही टीपरहरूमा त अघिल्लो समयको राजस्व पनि बाँकी रहेको बताइएको छ। तर नगर प्रमुख चौधरीले ती टीपरहरूलाई रातारात बिना कुनै राजस्व असुली गराई फिर्ता पठाएको आरोप महतोले लगाए।
महतोले भने, “सम्झौता अनुसार चाईना रेलवे कम्पनीले बनाउनु पर्ने सडक नगर प्रमुख चौधरी अहिले नगरपालिकाको बजेट खर्च गरेर निर्माण गरिरहेका छन्। यो कार्य सव-प्रशासकीय अधिकृत झा र मेयर चौधरीको आपसी सेटिङ तथा कमिसनको परिणाम हो।”
उपमेयर महतोले आफूले यी भ्रष्टाचारका विषयमा बोल्न खोज्दा उल्टै मेयर चौधरीले पटक–पटक षड्यन्त्रपूर्वक मुद्दा फसाउने प्रयास गरिरहेको दाबी गरे। उनले भने, “म जनताको सेवक हुँ। जनताको हित र सच्चाइका लागि म सदैव बोलिरहनेछु।”
महतोले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण घटनाक्रम सार्वजनिक गर्दै लहान नगरवासीलाई सावधान रहन र भ्रष्टाचारविरुद्ध एकजुट हुन आग्रह समेत गरे।