मिति:- २७ जेष्ठ २०८२, सोमबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जसपा नेपाल लहानद्वारा १८औँ गणतन्त्र दिवस दीप प्रज्वलनसहित मनाइयो।।

सितल साह ,लहान, सिरहा जेठ १५ — जसपा नेपाल लहान नगर समितिको आयोजनामा १८औँ गणतन्त्र दिवस विशेष कार्यक्रमसहित मनाइएको छ। लहान नगरको मुख्य चोकमा रहेको शहिद शालिक अगाडि दीप प्रज्वलन गर्दै वीर शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो।

कार्यक्रमको प्रारम्भमा एक मिनेट मौनधारण गरि मधेश आन्दोलनमा बलिदानी दिने शहिदहरूप्रति श्रद्धा व्यक्त गरियो। त्यसपछि ‘गणतन्त्र जिन्दावाद’ भन्ने नारा लगाउँदै उपस्थित नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवी वर्गले मैनबत्ती बालेर गणतन्त्रको पक्षमा ऐक्यबद्धता प्रकट गरे।

लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “गणतन्त्र ल्याउनुमा हाम्रा वीर शहिदहरूको महान बलिदान रहेको छ। त्यो देन कहिल्यै भुल्न मिल्दैन। आज केही राजावादीहरूले राजा फर्काउनुपर्छ भन्ने कुरा उठाइरहेका छन्, तर त्यो हामीलाई कदापि स्वीकार्य छैन।” उनले थपे, “राजतन्त्रको लामो शासनकालमा आम नागरिकसँग बोल्ने अधिकार पनि थिएन। अहिले गणतन्त्रका कारण जनतामा चेतना र अधिकारको भावना पलाएको छ। यदि आज भ्रष्टाचार छ भने त्यसको समाधान व्यक्ति परिवर्तनमा छ, शासन परिवर्तनमा होइन।”

उपप्रमुख महतोले लहान नगर प्रमुख महेश चौधरीको कामशैलीमाथि व्यंग्य गर्दै भने, “एक दिन झाडु लगाएर सफा गर्दा फोहोर सफा हुदैन। २४ वटै वडाहरूको सरसफाइ अवस्था हेर्नुस्, धेरै खराब छ। एक दिन झाडु लिएर नाटक गर्नुको साटो जनताका वास्तविक समस्या समाधान गर्नुपर्छ, नत्र जनता बुझ्दैछन्, भोली जवाफ माग्नेछन्।”

कार्यक्रममा लहान नगर सभापति राम उदगार महतो, उपाध्यक्ष शत्रुधन यादव, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, सिरहा जिल्ला सदस्य बलिराम यादव लगायत जसपा नेपालका नेता, कार्यकर्ता, बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैले एक स्वरमा गणतन्त्र जिन्दावाद भन्दै दीप प्रज्वलन गरेर दिवसलाई उत्सवको रुपमा मनाएका थिए।

गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण दिन हो। २०६५ सालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको सम्झनामा हरेक वर्ष जेठ १५ गते यो दिवस मनाइन्छ। खासगरी मधेश आन्दोलनले गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो। मधेशी समुदायको पहिचान, समान अधिकार, प्रतिनिधित्व र भाषिक-सांस्कृतिक अधिकारको मागले सैयाै मधेशी युवाहरूले बलिदान दिएका थिए।

त्यसै बलिदानीको जगमा आजको गणतन्त्र स्थापना भएको हो र त्यही आन्दोलनको सम्मान स्वरूप मधेशमा गणतन्त्र दिवस विशेष रुपमा मनाइन्छ। लहानमा सम्पन्न यो वर्षको समारोह पनि त्यही ऐतिहासिक भावनाको सम्मानमा समर्पित रह्यो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button