सिरहा नगरप्रमुख डा. नविन यादवद्वारा पत्रकारलाई धम्कीप्रति महासंघको घोर आपत्ति

सितल साह,सिरहा,लहान जेठ १३ गते।
सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन यादवले पत्रकारहरूमाथि दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ, शाखा सिरहाले कडा आपत्ति जनाएको छ। सोमबार (जेठ १२ गते) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकाका विभिन्न फाइलहरूमाथि गरेको छानबिनसम्बन्धी समाचार सम्प्रेषणलाई लिएर नगरप्रमुख यादवले सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूमाथि धम्कीपूर्ण चेतावनी दिएका थिए।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “पत्रकारको पेशागत धर्म अन्तर्गत सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु प्रेस स्वतन्त्रताको मूल आधार हो। त्यसलाई रोक्न खोज्नु लोकतान्त्रिक मूल्य र मान्यतामाथिको गम्भीर प्रहार हो, जुन स्वीकार्य छैन।”
अख्तियारको छानबिनप्रति समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य हो। “मेयर नवीन चोखो छन् भन्ने विश्वास छ भने किन डर र धम्कीको सहारा लिनु पर्यो?”

महासंघका अध्यक्ष मनोज बनैता यादवले जारी गरेको विज्ञप्तिमा मेयरको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि हमला भएको स्पष्ट संकेत दिएको उल्लेख गरिएको छ। साथै, सञ्चारकर्मीहरूलाई चेतावनी र धम्की दिने कार्यको भत्सर्ना गर्दै महासंघले सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
“पत्रकारलाई धम्की दिएर सत्य र तटस्थ समाचार लेखनमा अवरोध सिर्जना गर्ने प्रयास भएको खण्डमा त्यसको प्रतिवाद गरिनेछ। हामी सबै सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न दिने आग्रह गर्छौं,” महासंघले जनाएको छ।
महासंघले सम्पूर्ण सञ्चारकर्मीहरूलाई सचेत, संयमित र एकजुट रहन पनि अपिल गर्दै सत्य तथ्य समाचार संकलनमा राेक नलगाउन सम्पुर्ण निकायलाई ध्यानाकर्षण गराएका छन।