लहान नगरपालिकाको छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न,नतिजा आजै प्रकाशन गरिने तयारी

सितल साह लहान, सिरहा बैसाख २० — लहान नगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरूका लागि सञ्चालन गरेको प्रवेश परीक्षा शान्तिपूर्वक सम्पन्न भएको छ।
संस्थागत छात्रवृत्ति वितरण व्यवस्थापन समितिको २०८२/०१/१७ गतेको बैठक निर्णयअनुसार कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि २०८२/०१/२० गते शनिबार बिहान ८ बजे देखि लहान-३ स्थित श्री लहान प्यारागन पब्लिक स्कूलमा परीक्षा सञ्चालन गरिएकाे थियाे।
लहान नगरपालिका भित्र रहेकाे २४ वटै वडाबाट ३८२ जनाले आवेदन दिएका मध्ये ३१५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षा सामुदायिक तथा निजी विद्यालयका गरिब, दलित र अति विपन्न परिवारका विद्यार्थीहरूका लागि आयोजित गरिएको थियो।

परीक्षा शिक्षा विज्ञ तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको रोहवरमा सभ्य र शान्त वातावरणमा सम्पन्न भएको थियो। शिक्षा शाखा प्रमुख अमिरी यादवका अनुसार परीक्षाको उत्तरपुस्तिका आजै जाँच गरि नतिजा प्रकाशित गरिनेछ तयारी भईरहेकाे जानकारी गराउनु भयाे।
उतीर्ण विद्यार्थीहरूलाई लहान नगरपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयमा उतिर्ण मार्क अनुसार रोजेर भर्ना लिने व्यवस्था गरिनेछ। नगर प्रमुख महेश प्रसाद चौधरीले छात्रवृत्ति वितरण सम्बन्धी नीति स्पष्ट पार्दै १०% छात्रवृत्तिमध्ये ३% नगरपालिका तर्फबाट गरिब, दलित तथा अति विपन्न वर्गका लागि र बाँकी ७% विद्यालयले आफ्नै तर्फबाट जेहेन्दार, असाहाय अपांग द्वन्द्व पीडित,दलित, दु:खी वर्गका विद्यार्थीहरूलाई दिने बताए।

यस सराहनीय कार्यका लागि नगरवासी, अभिभावक तथा बुद्धिजीवीहरूले नगर प्रमुख चौधरीलाई धन्यवाद ज्ञापन गरेका छन्।अगामि दिनमा पनि यसप्रकारका जनमुखि कार्यक्रम ल्याउने प्रति आफू प्रतिबद्ध रहने बताउनु भयाे।