सिरहा–उदयपुर सीमान्त क्षेत्रमा ‘दोधारे’ नागरिकको पीडा : नागरिकता एक जिल्लाको, मतदाता नाम अर्कै जिल्लामा

सितल साह,११ मंसिर ०८२ ।। सिरहा/उदयपुर — चुरे क्षेत्रमा बसेका मानव बस्तीहररु अहिले राज्यका आधारभूत सेवा सुविधा तथा विकासका कार्यक्रमबाट बञ्जित हुन बाध्य भएका छन्। सिरहाको लहान नगरपालिका–१६ र उदयपुरको उदयपुरगढी गाउँपालिका जोड्ने चुरे क्षेत्र काब्रे महादेव स्थल भन्दा माथिमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिक ‘दोधारे’ अवस्थाको मारमा परिरहेका छन्।
उनीहरू मध्ये धेरैको नागरिकता उदयपुर जिल्लाको रहेको छ तर मतदाता नामावली भने सिरहाको लहान–१६ मा दर्ता छ। यद्यपि उनीहरूको दैनिकी, बस्ती र जीवन–यापन चुरेकै बीचमा रहेकाले दुवै स्थानीय तहबाट सेवा पाउन कठिन भइरहेको स्थानीयको गुनासो छ।
स्थानीयवासीका अनुसार, “नागरिकता उदयपुरको, मतदान सिरहामा — यसरी राज्यले नै दोधारे बनाइदिएको छ। न उदयपुरले पूर्ण रूपमा सेवा दिन्छ, न सिरहाकै योजनामा हाम्रो प्राथमिकता हुन्छ।”
यसले गर्दा उनीहरू स्वास्थ्य, शिक्षा, सडक, सिँचाइ, सामाजिक सुरक्षा लगायतका धेरै सेवाबाट वर्षौंदेखि बञ्चित हुँदै आएका छन्।
राजनीतिक अधिकार प्रयोग गर्नका लागि उनीहरूले लहान–१६ को बुथमा गएर मतदान गर्नुपर्छ, तर प्रशासनिक कागजात बनाउँदा उदयपुर धाउनुपर्छ। नतिजा स्वरूप, दुवै जिल्लाको संरचनामा उनीहरूको पहुँच कमजोर भइरहेको छ।
स्थानीयहरू भन्छन् —
“हामीलाई राज्यले किन यसरी बीचमै थुनिदिएको ? हामी नागरिक हौँ, तर हाम्रै अस्तित्व कागजमै दुई टुक्रा बनाइदियो।”
सम्बन्धित दुवै स्थानीय तह तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै स्थानीयहरूले नागरिकता, मतदाता र सेवा पहुँचसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न माग गरेका छन्।
उनीहरूको भनाइमा, “हामीलाई कुनै जिल्लाले पूर्ण रूपमा ‘आफ्नो’ ठान्दैन, परिणामस्वरूप विकास र सुविधा दुबै गुमाइरहेका छौँ।”
सीमान्त क्षेत्रमा बसोबास गर्ने यी नागरिकले राज्यसँग एउटै माग गरेका छन् —
“हामीलाई दोधारे होइन, समान अधिकार भएका पूर्ण नागरिकको रूपमा मान्यता दिइयोस्।”