मिति:- ७ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorizedमहाधिवेशनसमाचारस्थानीय खबर

जसपा नेपालको सिरहा क्षेत्र नं. १ र २ को अभिमुखीकरण कार्यक्रम लहानमा सम्पन्न।।

जसपा नेपालले सिरहा क्षेत्र नं. १ र २ का लागि अभिमुखीकरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न गरेको छ।

सितल साह , पाैष -०२ सिरहा ,लहान ।। जसपा नेपालले सिरहा क्षेत्र नं. १ र २ का लागि अभिमुखीकरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवले गर्नुभएको थियो भने प्रमुख अतिथि तथा वक्ता जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, विशिष्ट अतिथिका रूपमा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश सांसद राजु गुप्ता, सांसद ललिता दास, केन्द्रीय सदस्य तथा वरिष्ठ नेता खालिद सिद्दिकी, अशेश्वर यादव, सिरहा जिल्ला अध्यक्ष अशोक यादव लगायत अन्य केन्द्रीय, प्रदेश र स्थानीय नेताहरू तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रममा जसपा नेपालका नेताहरूले मधेश आन्दोलनका उपलब्धिहरूको चर्चा गर्दै, मधेशी कोटा, दलित कोटा र महिला कोटालगायतका अधिकारहरूको महत्व र जसपा नेपालकै योगदानमा ती सबै अधिकार प्राप्त भएको दाबी गरे। जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टीका सिद्धान्त र सोच विचारका बारेमा बोलेर मधेश आन्दोलनको भूमिका र जसपाको योगदानलाई प्राथमिकतामा राख्न आवश्यकताका बारेमा चर्चा गर्नुभयो। उहाँले मधेशको पहिचानको लडाइँमा जसपाले नेतृत्व लिनुपर्ने भनाइ राख्नुभयो।

राजु गुप्ताले चुरे देखि ठाडी बोर्डरसम्मका क्षेत्रहरूमा संगठन विस्तारको प्रतिबद्धता जनाउँदै मधेशको राजनीतिक शक्तिलाई मजबुत बनाउने आवश्यकतामा जोड दिनुभयो। जसपाले मधेशको पहिचानको लडाइँमा निर्णायक भूमिका खेल्नुपर्ने कुरा उठाउनुभयो। साथै, उहाँले जसपाको सदस्यता अभियानलाई तीव्र बनाउँदै जनबर्गीय संगठनमा प्रतिनिधित्वका लागि काम गर्न आग्रह गर्नुभयो।

अशेश्वर यादवले जनताले कार्यकर्ताको मूल्यांकन गर्ने हुँदा सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने कुरा जोड दिनुभयो। उहाँले घरघरमा गएर संगठन विस्तारको महत्व र जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो।

सचिव सुरेश मण्डलले जसपा नेपालले मधेशको हकमा ठूलो योगदान पुर्याएको भन्दै, “मधेशको पहिचान जसपाले दिएको हो। मधेशी जनताको हक र अधिकारको संरक्षण गर्न जसपा एकमात्र पार्टी हो,” भन्नुभयो। उहाँले प्रत्यक्ष निर्वाचित प्रणालीको माग गर्दै, युवा, महिला र दलितका लागि जसपा पार्टी समावेशी र भविष्यका लागि आशा जनक रहेको बताउनुभयो।

राष्ट्रिय उपाध्यक्ष राजकिशोर यादवले नेपालका आर्थिक र कृषि क्षेत्रको समस्यालाई उजागर गर्दै, “नेपालका युवाहरू बिदेश जान बाध्य भएका छन् र यहाँको कृषि उद्योग ध्वस्त भएको छ। जसपाले मधेशी जनतालाई नागरिकता र पहिचान दिएको छ, मधेशको अधिकारको रक्षा गर्न हामी अग्रसर रहनेछौं,” भन्नुभयो। उहाँले नेपालमा खस आर्य नेतृत्वको काङ्ग्रेस कम्युनिस्टको कारण देशको अर्थतन्त्र कंगाल भएको र नेपालको राजनैतिक स्थितिलाई सुधार गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

नेता यादबले कांग्रेस र कम्युनिस्ट जस्ता दुई ठूला दल मिलेर सरकार चलाउँदा भ्रष्टाचार र संघीयता ध्वस्त गर्ने काममा लागिरहेको आरोप लगाउनुभयो। उहाँले मधेशको स्वायत्तता र अधिकारका लागि संविधान संशोधनको आवश्यकता रहेको र मधेशका हकमा अन्य दलहरूको रवैया नकारात्मक रहेको उल्लेख गर्नुभयो।

 

राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशको हकका लागि पार्टीको प्रतिबद्धता व्यक्त गर्दै, “मधेशका लागि जसपाले संघर्ष गरेको छ। मधेशको अधिकारको रक्षा गर्न हामी सबैले एकजुट भएर काम गर्नु पर्छ,” भन्नुभयो। उहाँले वर्तमान सरकारको असफलताका बारेमा बोल्दै, मधेशको स्वायत्तता, प्रहरी, अदालत र कर्मचारीहरूको आवश्यकता रहेको कुरा राख्नुभयो।

कार्यक्रममा सहभागी नेताहरूले आगामी दिनहरूमा संगठनको विस्तार र राजनीतिक सशक्तिकरणका लागि जिम्मेवारी वहन गर्दै जनतालाई समृद्धिको दिशामा लैजाने कसम लिएर अगाडि बढनु पर्ने कुरा व्यक्त गरे। जसपाले मधेशलाई प्राथमिकता दिने र समतामूलक समाज निर्माण गर्ने दिशामा काम गर्न प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker