वडा अध्यक्ष रासलाल रायद्वारा Water Aid का अतिथिहरुलाई भव्य स्वागत।।
लहान नगरपालिका वडा नं-२४ का वडा अध्यक्ष रासलाल राय राजपुत र वडा बासिहरुले Water Aid (BEACON) का अतिथिहरुलाई भव्य स्वागत गरेका छन्।
सितल साह , लहान, सिरहा, मंसिर २० – लहान नगरपालिका वडा नं-२४ का वडा अध्यक्ष रासलाल राय राजपुत र वडा बासिहरुले Water Aid (BEACON) का अतिथिहरुलाई भव्य स्वागत गरेका छन्। यस कार्यक्रममा वडा अध्यक्ष राय र वडाबासिहरुले अतिथिहरुलाई फूलमाला र खाद्या लगाई सम्मान गर्दै स्वागत गरे।
वडा अध्यक्ष रायले कार्यक्रमका क्रममा वडामा रहेको खानेपानी व्यवस्थापन र जडानका बारेमा जानकारी दिँदै, “वडामा २ वटा बोरहोल, १ ओभरहेड ट्यांक (२२५ घनलिटर क्षमता) र ११ किलोमिटर पाईपलाईन बिस्तार गरिसकिएको छ,” बताए। उनले वडामा १५३८ घरधुरी रहेको र जनसंख्या ७५३५ (पुराना डाटा अनुसार) रहेको उल्लेख गर्दै, हाल वडामा लगभग १०,०००(दस हजार) जनसंख्या पुगिसकेको जानकारी दिए।
वडा अध्यक्ष रायले भने, ” लगभग वडा भरि खानेपानीको पाईपलाईन ओछ्याउने काम पुरा भए तापनि, अहिले सम्म १३७ घरधुरीले मात्र पानी जडान गरेका छन्, जस मध्ये ४५ घर दलित र ९२ घर गैर दलितका छन्।” उनले अझै ४९९ घर दलित र ९०२ घर गैर दलितको पानी जडान गर्न बाँकी रहेको उल्लेख गरे।
कार्यक्रममा Water Aid का अतिथिहरुले स्थानीय समुदायसँग खानेपानी र चर्पीको अभावका बारेमा प्रतिक्रिया लिए। जनताले गुनासो गरेका थिए कि आर्थिक समस्याका कारण धेरैलाई पानी जडान गर्न कठिनाइ भइरहेको छ।
वडा सदस्य तथा कार्यपालिका सदस्य आशा महतोले सार्वजनिक शौचालयको महत्त्वका बारेमा जोड दिँदै भनिन्, “महिनाबारीको बेला स्यानिटरी बाटाेघाटाेमा प्याड बदल्ने समस्या र दिशा पिसाब जस्ता समस्यामा महिलालाई अझ बढी समस्या हुन्छ, त्यसैले सार्वजनिक शौचालयहरूको निर्माण अत्यन्त आवश्यक छ।”
Water Aid का विदेशी अतिथिहरुले स्वास्थ्य चौकीमा निर्माण भईरहेकाे चर्पी , वडा कार्यालय, लेखनाथ मावि र खानेपानी मलहनमा गरेका कामहरूको अनुगमन गरे। अनुगमनको क्रममा अतिथिहरुले स्थानीय समुदायसँग समस्याहरू बारेमा प्रतिक्रिया लिएका थिए र भविष्यमा सुधारका लागि सुझाव दिएका थिए।
कार्यक्रममा Water Aid (BEACON) का पाँच जना विदेशी अतिथिहरु, वडा अध्यक्ष रासलाल राय राजपुत, वडा सदस्य आशा महतो, दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद बिसुन्के, वरिष्ठ नेता तथा बुद्धिजीवीहरु, स्थानीय अगुवा नेता र युवाहरुको उल्लेखनीय उपस्थिती थियो।
Water Aid द्वारा समुदायमा उपलब्ध गराएका खानेपानी र स्वास्थ्य सुविधामा सुधार ल्याउने कार्यको थप निरन्तरता र सहयोगका लागि स्थानीय समुदायले आभार व्यक्त गरेका थिए।