नेपाली काँग्रेस लहान नगर कार्य समिति द्वारा खुटी नहर सिचाइ बिवाद प्रति ध्यानाकर्षण पत्र
सितल साह ,लहान, सिरहा– नेपाली काँग्रेस लहान नगर कार्य समितिले मिति २०८१/०७/१३ गते एक ध्यानाकर्षण पत्र जारी गर्दै लहान नगरपालिकामा किसान र बजारका समस्याबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।
सितल साह ,लहान, सिरहा– नेपाली काँग्रेस लहान नगर कार्य समितिले मिति २०८१/०७/१३ गते एक ध्यानाकर्षण पत्र जारी गर्दै लहान नगरपालिकामा भईरहेकाे खुटि नहर सिचाई बिबाद सम्बन्धि किसान र बजारका समस्याबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। पत्रमा लहान नगरपालिकामा कृषिमा गरिएका प्रयासहरू र पूर्व मेयरको कार्यकालमा भएका खुटि नहरकाे असफलताबारे विस्तृत रुपमा चर्चा गरिएको छ।
पत्रमा उल्लेख गरिएको छ कि नेपाल कृषि प्रधान देश हो र नेपाली काँग्रेसले सधैं किसानको हकहितमा काम गर्दै आएको छ। लहान नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरूले किसानलाई कृषि विद्युत सहसुल, अनुदान, बीउ बीजन र कृषि उपकरणमा सहयोग गर्दै आएको उल्लेख गरिएको छ। यद्यपि, पत्रमा ६० वर्ष अगाडि खुटि नहरको दयनीय अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ, जसले किसानलाई सिंचाईका लागि कुनै सुविधा प्रदान गर्न सकेको छैन।
“हालको नहर फोहोर थुपार्ने थलो बनेको छ र पानीको प्रवाह गर्न नसकेका कारण किसानहरू समस्यामा छन्,” पत्रमा भनिएको छ। नहरको व्यवस्थापन र सौन्दर्यकरण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
पत्रमा उल्लेख गरिएको छ कि पूर्व मेयरको कार्यकालमा नहरको पक्की संरचना निर्माणको योजना असफल भएको थियो। त्यसपछि, लहान नगरपालिका कार्यालयले बजार र किसानको समस्यालाई ध्यानमा राख्दै विगतका असफल योजनाबाट पाठ सिकेर नयाँ विकास योजना अघि बढाउने प्रयास गरिरहेको छ। तर, मिति २०८१/०७/११ गते केही व्यक्तिहरूले मेयर महेश चौधरीको विरुद्धमा राजनीतिक पूर्वाग्रहका आधारमा गतिविधि गरेकोमा नगर समितिले ध्यानाकर्षण गरेको छ।
नेपाली काँग्रेसका नेता र कार्यकर्तालाई एकताको आव्हान गर्दै पत्रमा भनिएको छ, “असहमति जनाउने ठाउँ पार्टीको बैठक हो। त्यहाँ आफ्नो समस्या राख्नुपर्छ।” कुनै पनि पार्टी सदस्यले आफ्नै जनप्रतिनिधिहरू विरुद्ध अरु पार्टीसँग मिलेर गतिविधि गर्नु स्वीकार्य हुँदैन।
पार्टीका बैठकहरूमा उपस्थित नहुनु र बहकाउ र उस्काहटमा आफ्नै प्रतिनिधिहरू विरुद्ध गतिविधि गरिदा अनुशासनको कारवाहीका लागि पार्टीको माथिल्लो तहमा सिफारिस गरिने उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्रलाई नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति, मधेस प्रदेश समिति, र सिरहा जिल्लाका समितिहरूमा बुझाइने उल्लेख गरिएको छ।
उक्त ध्यानाकर्षण पत्र नेपाली कांग्रेस लहान नगर कार्य समितिका सभापति संजय कुमार यादव द्वारा जारी गरीएकाे छ।