लहान नगरपालिकाकाे सहमतिमा चाईना रेलवे कम्पनी द्वारा लहान–२४ काे वन क्षेत्रमा उत्खनन

सितल साह,सिरहा, लहान बैशाख २५– लहान नगरपालिका वडा नं.–२४ अन्तर्गत साविक वडा नं. ९ र ७ को सीमावर्ती वन क्षेत्र र खोलाबाट चाइना रेलवे कम्पनीले मापदण्ड विपरीत नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरेपछि स्थानीयबासी आक्रोशित भएका छन्।
स्थानीय प्रतिनिधि, केही दलका नेताहरु, वडा अध्यक्ष र लहान नगरपालिकाको सहमतिमा उक्त खोलाकाे बिच भागबाट १ मिटर मात्र गहिराइमा गिट्टी, वालुवा र ग्रावेल खनेर खोलालाई च्यानालाईज गर्ने उद्देश्यसहित लिखित सम्झौता भएको थियो। बाढीले खेतीयोग्य जमिन कटान गरिरहेकाले सरोकारवाला पक्षहरुबीच सहमति भएको जनाइएको थियो। सहमति अनुसार, आवश्यक परे नदीको बीच भागबाट मात्र १ मिटरसम्म उत्खनन गर्ने भनिएको थियो।
तर अहिले चाइना रेलवे कम्पनीले उक्त सहमतिभन्दा दोब्बरभन्दा बढी—२ मिटरभन्दा बढी गहिरो खनेर हजारौं टिपर नदीजन्य सामग्री ढुवानी गरेको स्थानीयको गुनासो छ। वन क्षेत्रबाट समेत बिना नियम उत्खनन भइरहेको देखिएपछि आक्रोशित स्थानीयहरुले उत्खनन कार्य रोक लगाएका छन्।
स्थानीय नेताहरुको अनुसार, उत्खननको नाममा वन मासिँदै गएको, मापदण्ड नअपनाइएको र पारदर्शिता नभएको भन्दै स्थानीयले लहान नगरपालिकासँग लिखित रूपमा “कुन कानुन र मन्त्रालयको परीपत्रअनुसार वन क्षेत्र उत्खनन भइरहेको हो?” साे चिठी देखाउन आग्रह गरेका छन्।

सहमतिका लागि बसिएकाे एक भेलामा लहान नगरपालिकाका मेयर महेश चौधरीले “तपाईं गाउँलेले सहमति नदिएपनि म मेयर हुँ, म संग मन्त्रालयको चिठ्ठि छ नगर प्रहरी लगाएर भएपनि उत्खनन गराउँछु” भन्ने अभिव्यक्ति दिएको एमालेका नेता सत्रुधन यादवले खुलासा गरेका छन्। यसले स्थानीय झनै आक्रोशित बनाएको छ।
स्थानीयले आर्थिक प्रलोभनमा परेर मेयर चौधरीले जनविरोधी सम्झौता गरेको आरोप लगाउँदै अब उनलाई विश्वास गर्न नसकिने बताएका छन्। वहाँले धम्किपुर्ण अभिव्यक्ति दीनुमा पक्कै आर्थिक चलखेल भएकाे हुन सक्ने नेता तथा वन उपभोक्ता रामनारायण महताे बताउछन।
उत्खनन रोकिएको स्थानबाट अहिले साविक वडा नं. ६ नजिकको खोलाबाट गुपचुप ढंगमा सामग्री निकालि रहेकाे जानकारी प्राप्त भएको छ। जाली क्रेटिङ्ग गर्ने सर्तमा सम्झौता भएको भए पनि हालसम्म कुनै पनि संरचना निर्माण सुरु नभएको भन्दै स्थानीयले सम्झौता कार्यान्वयन गर्न र उत्खनन तत्काल रोक्न माग गरेका छन्।

नदीजन्य स्रोतको असंवेदनशील दोहन, मापदण्डको उल्लङ्घन, वन क्षेत्रको विनाश र जनप्रतिनिधिद्वारा दिइएको धम्कीपूर्ण अभिव्यक्तिले लहानमा वातावरण झनै तनावपूर्ण बन्न सक्ने सम्भावना बनेकाे छ।
यस घटनाले संसाधन व्यवस्थापन, पारदर्शिता र जनसहमतिको महत्त्वलाई फेरि उठान गरेको छ। सम्बन्धित निकायले छानबिन र कडा निगरानी नगरेसम्म यस्ता गतिविधि पुनः दोहोरिने स्थानीयको चिन्ता छ।
