धार्मिक–सामाजिक योगदानबाट परिचित पत्रकार विनोद मण्डल, उदाहरणीय व्यक्तित्वको रूपमा उदाए ।

सितल साह , लहान ,सिरहा ,०८२ साउन १७ ।।सिरहा जिल्लास्थित धनगढीमाई नगरपालिकाका-१२ का ग्रामिण क्षेत्र साबिक बिष्णुपुरकट्टी-६ बाट पत्रकारिता यात्रा सुरु गरेका विनोद मण्डल आज पत्रकारिता मात्र होइन, धार्मिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा समेत प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भइसकेका छन्।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका जिल्ला कार्यसमिति सदस्यसमेत रहेका मण्डलले हालसम्म विभिन्न मठमन्दिर निर्माणदेखि सामाजिक सेवा र जनचासोका मुद्दामा उल्लेखनीय काम गर्दै आएका छन्। केही समय पहिले निर्माण सम्पन्न गरिएको चन्द्र घण्टा राजदेबि माता मन्दिरमार्फत धार्मिक आस्थाका प्रतीक बनेका मण्डल हालै रुद्र गणेश बाबा देउताको मन्दिर निर्माणमा पनि सक्रिय भई सफलता प्राप्त गरेका छन्।
धार्मिक कार्यका साथै उनी समाज परिवर्तनको अभियानमा पनि निरन्तर क्रियाशील छन्। गागन-मागन- जाेडने बाटाे खुलाउन, धनगढीमाई–१४ हुँदै उदयपुर जोड्ने महत्वपूर्ण सडक मार्ग खोल्ने विषयमा पटक–पटक आवाज उठाएपछि जब सम्बन्धित निकाय बेवास्ता गर्न थाले, उनले जनप्रतिनिधिलाई दबाब दिन आफ्नै पहलमा अनशनसम्मको बाटो समाते। उनको संघर्षकै परिणामस्वरूप सो सडक मार्ग हाल निर्माणाधीन अवस्थामा रहेको छ।
यही जोश र जनप्रतिबद्धताको बलमा केही महिनाअघि एक अति विपन्न भुजेल परिवारको लागि पक्की घर निर्माण गराएर सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरे। आफ्नो व्यक्तिगत हैसियतभन्दा पर जान तयार भएका पत्रकार मण्डल समाजसेवा र मानवीय सहयोगका हरेक आयाममा अग्रमोर्चामा देखिन्छन्।

पत्रकारिता पेशामा पनि उनी खोजमूलक र जनमुखी लेखनका लागि चिनिन्छन्। विशेषगरी ग्रामिण तथा विकट बस्तीहरूका समस्या, जनताको पीडा र बास्तविकता उजागर गर्दै आएका मण्डलले “धनगढीमाई नगरपालिकाको इतिहास” र “सिरहाली पत्रकारिता इतिहास” लेखेर लेखकका रूपमा पनि सशक्त उपस्थिति जनाएका छन्।
सिरहा जिल्ला मात्र नभई देश तथा विदेशसम्म पत्रकारिता र सामाजिक अभियन्ताको पहिचान बनाएका विनोद मण्डल आज आम जनताको ढुकढुकी, आवाजविहीनहरूको आवाज, अनि विकासका लागि अडान लिन सक्ने सच्चा जनपक्षीय पात्रको रूपमा स्थापित भएका छन्। समाज र राष्ट्रप्रति यस्तो समर्पण पत्रकारिता पेशामै रहँदै सम्भव हुने उदाहरणको नाम बनेका छन् पत्रकार विनोद मण्डल।
