लहानमा लागुऔषध सहित तीन युवक पक्राउ, खैराे हिरोइनसहित डिजिटल तराजु बरामद।

सितल साह ,लहान ,सिरहा, असार १० — सिरहा जिल्लाको लहान नगरपालिका–२ मा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ, डिजिटल तराजु र मोबाइल फोन समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले लहान–२ स्थित २३ वर्षीय बिवेक यादवको घरमा छापा मारेको थियो। छानबिनका क्रममा १७.४९ ग्राम लागुऔषध (खैरो हिरोइन जस्तो देखिने) पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्ने अन्य दुई व्यक्तिमा लहान–१ निवासी ३० वर्षीय सुरेश साह र लहान–२ निवासी २७ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्। घटनास्थलबाट बरामद गरिएको लागुऔषध र डिजिटल तराजुले उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको संकेत गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ। हाल उनीहरू विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
लहान क्षेत्र पछिल्लो समय लागुऔषध कारोबारको केन्द्र बन्दै गएको प्रहरीको विश्लेषण छ। स्थानीयस्तरमा सचेतना अभिवृद्धि र निगरानी बढाउनु आवश्यक भएको प्रहरी स्रोतले जनाएको छ। यस प्रकारका अपाराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित निगरानी र सहकार्य आवश्यक रहेको सुरक्षा निकायहरूको भनाइ छ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राख्दै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ।