लोकज्योती उत्थान केन्द्रद्वारा दिपेन्द्र मा.बि.कटारिमा पङ्खा र ह्वाइट बोर्ड वितरण।।

सितल साह , उदयपुर,कटारी, २८ साउन ०८३ । लोकज्योती उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” (OUS Project Area) अन्तर्गत श्री दिपेन्द्र माध्यमिक विद्यालय, कटारी–६, जोगीडाँडामा आज विद्यालयका लागि आवश्यक केही थान पङ्खा तथा ह्वाइट बोर्ड वितरण गरिएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अध्यापनरत शिक्षकलाई सहज र अनुकूल शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। विशेषगरी गर्मीका कारण कक्षाकोठामा हुने असहजतालाई केही हदसम्म कम गर्दै विद्यार्थीको सिकाइमा सहजता ल्याउन पङ्खा उपयोगी हुने अपेक्षा गरिएको छ। त्यस्तै, ह्वाइट बोर्डको प्रयोगले कक्षाकोठामा शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
लोकज्योती उत्थान केन्द्रले विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थीको स्वास्थ्य, शिक्षा तथा सिकाइ वातावरण सुधारका लागि आवश्यक शैक्षिक तथा भौतिक सामग्री सहयोग गर्दै आएको छ। दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायका विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउँदै विद्यार्थीलाई गुणस्तरीय र सहज शैक्षिक वातावरण प्रदान गर्ने केन्द्रको अभियान रहेको जनाइएको छ।

दिपेन्द्र माध्यमिक विद्यालयमा गरिएको पङ्खा तथा ह्वाइट बोर्ड वितरणले विद्यालयको दैनिक पठनपाठनमा प्रत्यक्ष सहयोग पुग्ने तथा विद्यार्थी र शिक्षक दुवैलाई राहत मिल्ने अपेक्षा गरिएको छ। विद्यालय परिवारले यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
लोकज्योती उत्थान केन्द्रको यस पहललाई विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारतर्फको महत्वपूर्ण सहयोगका रूपमा लिइएको छ।
