लोकज्योती उत्थान केन्द्रद्वारा उदयपुर कटारीकाे दुई विद्यालयको अनुगमन।।

सितल साह ,उदयपुर ,कटारि , २७ साउन । लोकज्योती उत्थान केन्द्रद्वारा सञ्चालित “विद्यालय स्वास्थ्य कार्यक्रम” OUS Project Area अन्तर्गत उदयपुरको कटारी नगरपालिका क्षेत्रका दुई विद्यालयमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कटारी नगरपालिका–६, बगपतीस्थित श्री कालिका आधारभूत विद्यालयमा कटारी नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष श्री सुबिन ढुंगानासहितका जनप्रतिनिधि तथा SAHP का प्रतिनिधिहरूको सहभागितामा विद्यालय अनुगमन गरिएको हो। अनुगमनका क्रममा विद्यार्थीहरूले प्रयोग गरिरहेका शैक्षिक सामग्री, सामग्रीको उपयोगिता तथा विद्यार्थीको सिकाइ प्रक्रियाबारे जानकारी लिइएको थियो।
विद्यालयको समग्र शैक्षिक वातावरण, विद्यार्थीको सहभागिता तथा उपलब्ध शैक्षिक सामग्रीको प्रयोगको अवस्थाबारे जानकारी लिँदै विद्यालय परिवारसँग आवश्यक छलफलसमेत गरिएको थियो
अनुगमनका क्रममा विद्यालयको अवस्था समग्रमा सन्तोषजनक तथा कार्यक्रम प्रभावकारी रहेको पाइएको सहभागीहरूले बताएका छन्।
त्यसैगरी, लोकज्योती उत्थान केन्द्र “विद्यालय स्वास्थ्य कार्यक्रम” OUS Project Area अन्तर्गत नै कटारी नगरपालिका–७, रतनपुरस्थित श्री कालिका माध्यमिक विद्यालयमा पनि विद्यालय अनुगमन गरिएको छ।
उक्त विद्यालयमा विद्यार्थीहरूको सिकाइ उपलब्धि, शैक्षिक सामग्रीको प्रयोग तथा त्यसबाट विद्यार्थीको सिकाइमा परेको प्रभावका विषयमा विद्यालय प्रशासन तथा शिक्षकहरूसँग छलफल गरिएको थियो। उपलब्ध गराइएका शैक्षिक सामग्री विद्यार्थीको आवश्यकता र सिकाइ प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग भइरहेको अवस्थाबारे समेत जानकारी लिइएको थियो।
अनुगमनका क्रममा विद्यालयका शिक्षक तथा सम्बन्धित प्रतिनिधिहरूले कार्यक्रममार्फत उपलब्ध गराइएका सामग्रीले विद्यार्थीहरूको सिकाइलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुगेको बताएका थिए।
लोकज्योती उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम”ले विभिन्न विद्यालयमा शैक्षिक सामग्रीको उपलब्धता, विद्यार्थीको सिकाइ वातावरण तथा विद्यालयको समग्र शैक्षिक अवस्थालाई सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
अनुगमन कार्यक्रमले विद्यालयमा उपलब्ध सामग्रीको उचित प्रयोग, विद्यार्थीको सिकाइ उपलब्धि र कार्यक्रमको प्रभावकारिताबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुगेको सहभागीहरूको भनाइ छ।
