लोकज्योती उत्थान केन्द्रद्वारा अम्बासमा १०५ विपन्न विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

सितल साह,सिरहा,१२ साउन ०८३ ।।लोकज्योती उत्थान केन्द्रद्वारा सञ्चालन गरिएको “विद्यालय स्वास्थ्य कार्यक्रम” अन्तर्गत मदन भण्डारी स्मृति माध्यमिक विद्यालय, अम्बासमा अध्ययनरत दलित, गरिब तथा विपन्न समुदायका १०५ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सिल लगायतका शैक्षिक सामग्री तथा विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूको पठनपाठनमा थप सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा धनगढीमाई नगरपालिका–१४ का वडा अध्यक्ष अमित ठकुरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएकाले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमहरू अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले लोकज्योती उत्थान केन्द्रले शिक्षा क्षेत्रमा पुर्याइरहेको योगदानको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा उनले शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता र सकारात्मक दृष्टिकोणसमेत प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र मगर ले मन्तव्य राख्दै विद्यालयलाई सहयोग पुर्याएकोमा लोकज्योती उत्थान केन्द्रप्रति आभार व्यक्त गरे। उनले यस्ता सहयोगले विपन्न विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षाप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, लोकज्योती उत्थान केन्द्रका प्रतिनिधिहरू, स्थानीय अभिभावक, बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण र उत्साहपूर्ण बनाएका थिए।
सहभागीहरूले लोकज्योती उत्थान केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रमले शिक्षा र विद्यार्थी कल्याणका क्षेत्रमा पुर्याइरहेको योगदानको उच्च प्रशंसा गरेका थिए। सामाजिक उत्तरदायित्व र शैक्षिक विकासलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।