मिति:- २१ जेष्ठ २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
अपराधशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

मुसहर संघर्ष समिति सिरहा द्वारा रिंकु सदाय न्यायका लागि बृहत् र्‍याली

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा न्यायको माग गर्दै मुसहर संघर्ष समिति सिरहाले जनदबाबकाे लागि बृहत् र्‍याली निकालिएकाे थियाे।।

सितल साह , सिरहा , लहान , फाल्गुन १६ ।। सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा न्यायको माग गर्दै मुसहर संघर्ष समिति सिरहाले जनदबाबकाे लागि बृहत् र्‍याली निकालिएको थियाे। सामूहिक बलात्कारको घटनालाई गाउँका पञ्चायतले मिलाउन खोजेपछि रिंकु सदायले आत्महत्या गरेकी थिइन्। तर, उनको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्।

शुक्रबार लहान बजारमा निकालिएको उक्त प्रदर्शनमा सिरहाका विभिन्न गाउँबाट हजारौं मुसहर समुदायका महिला-पुरुष सहभागी भए। उनीहरूले प्लेकार्ड बोकेर रिंकु सदायलाई न्याय दिनुपर्ने, दोषीलाई कडा सजाय दिनुपर्ने, बलात्कारका घटनालाई मिलाउन खोज्ने पञ्चहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरे। ‘रिंकु सदायलाई न्याय देउ’, ‘बलात्कारीलाई सजाय दे’, ‘हत्यारालाई फाँसी दे’, ‘दलितमाथिको दमन बन्द गर’ जस्ता नारा गुञ्जिरहेका थिए।

दिनको २ बजेदेखि लहानको मुख्य चौकमा सुरु भएको प्रदर्शन पूर्व-पश्चिम राजमार्गसम्म फैलियो। प्रदर्शनकारीहरूले एक घण्टा सडक अवरुद्ध गरेपछि लहान बजारका यातायात सेवा प्रभावित भयो। सर्वसाधारण यात्रुहरूलाई असहज भए पनि प्रदर्शनकारीहरू आफ्नो न्यायको मागमा दृढ देखिए।

प्रदर्शनमा सहभागीहरूले प्रहरी प्रशासनले घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाए। २० दिन बितिसक्दा पनि मुख्य आरोपीहरू पक्राउ नपरेको भन्दै आक्रोश व्यक्त गरियो। हालसम्म प्रहरीले पञ्चायतमा संलग्न तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि बलात्कारमा संलग्न भनिएका मुख्य आरोपीहरू फरार छन्।

कार्यक्रम संयोजक अरुण सदायले सरकारको उदासीनताप्रति रोष व्यक्त गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याउन माग गरे। उनले भने, “२० दिन बितिसक्यो, तर अपराधीहरू अझै पक्राउ परेका छैनन्। प्रशासनको यस्तो उदासीनताले हामीलाई थप पीडा दिएको छ। यदि चाँडै न्याय पाइएन भने आन्दोलन अझ सशक्त हुनेछ।”

उप-संयोजक संगीता सदायले पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिन्। “रिंकुको मृत्यु रहस्यमय छ। प्रहरी प्रशासन निष्पक्ष नभए हामी सरकारविरुद्ध अझ सशक्त संघर्ष गर्नेछौँ,” उनले भनिन्।

सिरहा जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीले प्रमाण संकलन भइरहेको बताउँदै दोषीहरू पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइने प्रतिवद्धता व्यक्त गरेको छ।

तर, प्रदर्शनकारीहरूले प्रशासनको गतिशीलतामाथि प्रश्न उठाएका छन्। उनीहरूले यदि दोषीहरूलाई छिट्टै कारबाही नगरिए, आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएका छन्। रिंकुकुमारी सदायको मृत्युले सिरहासहित सम्पूर्ण दलित समुदायमा असुरक्षा र आक्रोश पैदा गराएको छ। यदि न्याय चाँडै नपाइएमा यो आन्दोलन झन् उग्र हुने संकेत देखिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker