छिन्नमस्ता गाउँपालिकाक जनप्रतिनिधिहरु सडक डिभिजन लहान अगाडि धर्नामा
सप्तरीको छिन्नमस्ता गाउँपालिकाक जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय लहान अगाडि धर्नामा बसेका छन।
लहान – सप्तरीको छिन्नमस्ता गाउँपालिकाक जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय लहान अगाडि धर्नामा बसेका छन। राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुँदै न्योर बोर्डरसम्म निर्माण भइरहेको सडक समयमा सम्पन्न नभएपछि जनप्रतिनिधिहरु आइतबार धर्नामा बसेका हुन।
लामोसमयदेखि सडक खनेर छोड्दा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए। पटकपटक कार्यालय र ठेकेदारको ध्यानाकर्षण गराए पनि काम नगरेकाले धर्ना बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म नेपाली र भारतीय दर्शनार्थी आउन समस्या भएको छ। दुर्घटनाको जोखिमसमेत बढेको छ उनले भने।अध्यक्ष चौधरीले सडक डिभिजन कार्यालय लहानका प्रमुख र प्राविधिकहरु, सडक विभागसहित सबै सरोकारवाला सरकारी निकायमा पटकपटक आग्रह गर्दा पनि सडक निर्माणमा तदारुकता नदेखाएको गुनासो गरे।
गाउँपालिका अध्यक्ष चौधरीसहित वडाध्यक्ष र स्थानीयबासीहरु समेत धर्नामा छन।प्रधानमन्त्रीदेखि भौतिक पूर्वाधार मन्त्रीसम्म, सडक विभागका महानिर्देशकदेखि सडक डिभिजन कार्यालयका प्रमुखसम्मलाई पटकपटक आग्रह गर्यौँ। तर सडक निर्माणमा कुनै चासो देखिएन उनले भने, जनता कष्टपूर्ण अवस्थामा आवतजावत गर्न बाध्य छन।