मिति:- २१ पुष २०८१, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorizedउधघाटनपत्रकार सम्मेलनपत्रपत्रिकामुख्य-समाचारशिक्षा-स्वास्थसमाचारस्थानीय खबर

आमसञ्चार द्वारा लहानमा ए.आइ. प्रविधि सम्बन्धि एकदिने कार्यक्रम भव्यताका साथ सम्पन्न।।

सिरहा जिल्लाको लहानस्थित सम्राट होटलमा मधेश प्रदेश सरकार अन्तर्गत रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयकाे सहयोगमा आमसञ्चार प्राधिकरण, जनकपुरद्वारा एकदिने  ए.आइ. सम्बन्धि अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

सितल साह , पाैष -१६ लहान ।  सिरहा जिल्लाको लहानस्थित सम्राट होटलमा मधेश प्रदेश सरकार अन्तर्गत रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयकाे सहयोगमा आमसञ्चार प्राधिकरण, जनकपुरद्वारा एकदिने  ए.आइ. सम्बन्धि अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रम पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताको अध्यक्षतामा सञ्चालन गरियो। प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले कार्यक्रमलाई सम्बोधन गरेका थिए। विशेष अतिथिहरूमा मधेश प्रदेशका सांसदहरू राजेन्द्र चौधरी, जिवछि यादव, र ललिता दास, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, गृह मन्त्रालयका महाशाखा प्रमुख दिपेन्द्र यादव, पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष अम्बिका दहाल, प्रशिक्षक जीवन भण्डारी, र साइबर सुरक्षा प्रशिक्षक प्रकाश मैनालीको उपस्थिति थियो। सिरहा जिल्लाभरिका सम्पूर्ण पत्रकारहरू कार्यक्रमका सहभागी भएका थिए।


कार्यक्रमको सुरुवात आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको स्वागत मन्तव्यबाट भयो। उनले ए.आइ. प्रविधिको महत्त्वमाथि प्रकाश पार्दै यसले पत्रकारितामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताए। उनका अनुसार ए.आइ.को प्रयोगले समाचार लेखन सजिलो, छिटो र प्रभावकारी हुने मात्र होइन, खोज पत्रकारिता र अनुसन्धानमा कम जनशक्तिमा पनि उत्कृष्ट परिणाम ल्याउन सकिनेछ बताउनुभयो ।

पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले शुभकामना मन्तव्य राख्दै हाल पत्रकारितामा देखिएका समस्या र चुनौतीहरूप्रति ध्यानाकर्षण गराए। उनले कतिपय पत्रपत्रिकाहरूमा अपूर्व शिक्षा र अनुभव नभएका व्यक्तिहरूलाई सम्पादक बनाइने र परम्पराको आलोचना गर्दै यस्तो प्रथाले पत्रकारिताको मापदण्डलाई कमजोर बनाउने धारणा राखे। साथै, सिरहा जिल्लामा सबैभन्दा धेरै पत्रकारहरू सक्रिय रहेको उल्लेख गर्दै उनले पत्रकार महासंघको कार्यालय निर्माणका लागि प्रदेश सरकारको सहयोगको माग गर्दै ध्यानाकर्षण गराएका छन।


कार्यक्रमका प्रमुख अतिथि मन्त्री राज कुमार लेखीले पत्रकारितालाई लोकतन्त्रको चौथो अंगको रूपमा उच्च सम्मान गर्दै यसले समाजमा भइरहेका बेथिति, गल्ती र कमीकमजोरी औंल्याउने महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रदेश सरकार सहिद परिवारका पाँच जना सदस्यहरूको बिमा गर्ने नीति अघि बढाइसकेको जानकारी दिँदै पत्रकारहरूको बिमा योजना समेत पारित भइसकेको बताए। मन्त्री लेखीले पत्रकारहरुकाे आलोचनात्मक टिप्पणी र सुझावलाई स्वीकार गर्दै सरकारलाई सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा ए.आइ. प्रविधि, साइबर सुरक्षा, डिजिटल मिडियामा हुने सम्भावना र चुनौतीलगायतका विषयमा विशेष प्रशिक्षण र अन्तरक्रिया गरियो। प्रशिक्षक जीवन भण्डारीले ए.आइ.को पत्रकारितामा प्रयोगका विविध पक्षहरूबारे जानकारी गराए भने साइबर सुरक्षा प्रशिक्षक प्रकाश मैनालीले डिजिटल युगमा हुनसक्ने जोखिम र त्यसको समाधानबारे प्रकाश पारे।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको समापन गर्दै पत्रकारहरूको हकहितका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए। उनले पत्रकारहरूको बिमा, दुर्घटना बिमा, रेडियो, पत्रपत्रिका, र अनलाइन मिडियालाई विज्ञापन सुविधा उपलब्ध गराउन आवश्यक कागजात तयार पारेर  लाभ लिन आग्रह गरे।

यस कार्यक्रमले सिरहा जिल्लाका पत्रकारहरूलाई ए.आइ. प्रविधि र डिजिटल युगका सम्भावनाबारे नयाँ ज्ञान र दृष्टिकोण प्रदान गरेको छ। पत्रकारितामा प्राविधिक नवप्रवर्तनको महत्त्वलाई उजागर गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker