लहान नगरपालिकामा न्यायिक समितिको सरोकारवालाबीच कानुनी साक्षरता कार्यक्रम सम्पन्न।

सितल साह , लहान, सिरहा जेठ ०९— लहान नगरपालिकाको सभाहलमा न्यायिक समितिका सरोकारवालाबीच कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला अदालत सिरहाका न्यायाधीश श्रीमान् माधव प्रसाद मैनालीको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा लहान इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी कैलाश राय, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य, कानुनी सल्लाहकार सन्तोष सुवेदी, पत्रकार लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घोषण न्यायिक समितिका बेचन यादवले गरेका थिए भने स्वागत मन्तव्य राम कुमारी दासले राखेकी थिइन्। कार्यक्रमका क्रममा वार्षिक प्रतिवेदन महेन्द्र ठाकुरले प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मैनालीले हाल बढ्दो मिटर ब्याजको समस्यामाथि प्रकाश पार्दै, कपालि सम्झौतामा वास्तविक भन्दा तेब्बर बढी रकम उल्लेख गरिनु गैरकानुनी भएको प्रस्ट पारे। साथै, यस्ता तमसुकमा साक्षी बस्ने व्यक्तिहरूले पनि कानुनी सचेतता राख्नुपर्नेमा जोड दिँदै, थोरै ऋण लिएर पनि धेरै रकम उल्लेख गर्नु र त्यसमा साक्षी बस्नु गलत भएको बताए।
वडा अध्यक्षहरूद्वारा कपालि दर्ताको क्रममा सम्पूर्ण छानबिन गरेर मात्र दर्ता गर्नुपर्ने, तथा कुनै सिफारिस गर्दा पनि सबै कानुनी प्रक्रिया र कागजातको पूर्ण मिलान गर्नु आवश्यक रहेको सुझाब दिइयो। साथै, अदालतको निर्णय सबै पक्षले मान्नै पर्ने भएकाले सिफारिस गर्दा सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिइएको थियो।

कार्यक्रमका अध्यक्षता गर्नु भएका उप–प्रमुख रामचलितर महतोले आफ्नो मन्तव्यमा न्यायिक समितिले विगतदेखि नै निरन्तर रुपमा सेवा दिँदै आइरहेको जानकारी दिँदै, उजुरीहरूको सही तरिकाबाट समाधान गर्दै आएकोमा सन्तोष व्यक्त गरे। जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका रहेको लहानमा सबैभन्दा धेरै वडाहरू रहेका कारण उजुरी पनि बढी आउने भए तापनि सहज रुपमा काम गर्दै न्यायिक समितिले सफलता पाएको उनको भनाइ थियो।
लहान नगरपालिकाका २४ वटै वडाबाट सबै अध्यक्षहरू उपस्थित नभए पनि अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा न्यायाधीश मैनालीसँग खुला संवाद भएको थियो। उक्त संवादबाट कानुनी सेवा प्रवाहसम्बन्धी सल्लाह सुझाव आदान–प्रदान हुँदै, वडा अध्यक्षहरूले नयाँ कुराहरू जान्ने अवसरसमेत प्राप्त गरेका थिए। कार्यक्रमको समापन उप–प्रमुख रामचलितर महतोले गर्नुभएको थियो।
