मिति:- ५ पुष २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहान–१८ शोभापुरमा क्रसर आतंक: दलित बस्ती, स्वास्थ्य र शिक्षा गम्भीर संकटमा

सितल साह,लहान,सिरहा, ०५ पष ०८२ ।। लहान नगरपालिका–१८ शोभापुरमा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण स्थानीय जनजीवन अत्यन्तै कष्टकर बनेको छ। सुरुमा कृषि फार्म सञ्चालन गर्ने भन्दै स्थापना गरिएको स्थानमा पछि क्रसर उद्योग सञ्चालन गरिएको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका छन्। क्रसर सञ्चालनबाट उद्योगी र मालिकले आर्थिक लाभ लिइरहेका छन् भने त्यसको प्रत्यक्ष नकारात्मक असर नजिकैका ठूलो बस्ती, दलित समुदाय र सामुदायिक विद्यालयमाथि परेको छ।

स्थानीयका अनुसार क्रसरबाट निस्कने बाक्लो धुलो र मेसिनको ठूलो आवाजका कारण श्वासप्रश्वास सम्बन्धी समस्या, रुघाखोकी, एलर्जी लगायतका रोग दिनप्रतिदिन बढ्दै गएका छन्। बालबालिकादेखि वृद्धसम्म दैनिक रूपमा बिरामी पर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। क्रसर नजिकै रहेको आधारभूत सामुदायिक विद्यालयमा पढ्ने नानीबाबुहरू धुलो र आवाजकै कारण पढाइमा ध्यान दिन नसक्ने अवस्थामा पुगेका छन्। कक्षा चलिरहँदा क्रसर चलेपछि धुलो उड्ने र ठूलो आवाज आउने हुँदा विद्यार्थीहरूलाई पठन–पाठन असहज भएको शिक्षक तथा अभिभावकहरूको गुनासो छ।

स्थानीय बस्तीमा ठूलो संख्यामा दलित समुदाय बसोबास गर्दै आएको र त्यसै कारण आफ्ना गुनासा कसैले नसुन्ने गरेको पीडितहरूको भनाइ छ। विरोध गर्न खोज्दा क्रसर सञ्चालकबाट धम्की आउने गरेको आरोप समेत लगाइएको छ। यस घटनामा राजनीतिक तथा प्रशासनिक संरक्षण रहेको भन्दै स्थानीयले गम्भीर आशंका व्यक्त गरेका छन्। राजनीतिक संरक्षणको आडमा जनतालाई दुःख दिनु कत्तिको न्यायसंगत हो भन्ने प्रश्नसमेत स्थानीय स्तरमा उठ्न थालेको छ।

यसैबीच संयुक्त दलित संघर्ष समितिले आज ईलाका प्रशासन कार्यालय लहान सिरहा, लहान नगरपालिका ,वन डिभिजन कार्यालय लहान,सिरहा ईलाका प्रहरी कार्यालय लहानमा ज्ञापनपत्र बुझाउँदै उक्त क्रसर उद्योगले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमाथि गम्भीर असर पारिरहेकाले तत्काल बन्द गरी हटाउन माग गरेको छ। ज्ञापनपत्रमा सार्वजनिक जग्गा, खोला–नालामा अवैध अतिक्रमण गरी नदीजन्य पदार्थको उत्खनन तथा बिक्री–वितरण गरिएको आरोप लगाइएको छ। उद्योग सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, स्थानीयको सहमति, वन कार्यालय तथा सम्बन्धित निकायको स्वीकृति नलिई मनपरी रूपमा क्रसर सञ्चालन गरिएको उल्लेख गरिएको छ।

स्थानीयको आवाज बेवास्ता गर्दै उल्टै धम्क्याउँदै हिँड्नु क्रसर सञ्चालकको गलत नियतको स्पष्ट प्रमाण भएको समितिको ठहर छ। पटक–पटक नगरपालिका र सम्बन्धित निकायमार्फत लिखित तथा मौखिक रूपमा क्रसर बन्द गर्न आग्रह गर्दा पनि अटेर भएपछि बाध्य भएर ज्ञापनपत्र बुझाउनुपरेको समितिले जनाएको छ। माग सम्बोधन नभए धर्ना तथा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

संयुक्त दलित संघर्ष समितिका अध्यक्ष टिका राम मोचीले दलित बस्तीमाथि भइरहेको अन्याय तत्काल रोक्न र स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रको संरक्षण गर्न सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button