उपमेयर रामचलितर महतोमाथि सुन प्रकरण षड्यन्त्र: मेयर चाैधरीले बदनाम गर्न चाल चलेको आरोप।।

सितल साह , लहान, असार १६ – लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले आफूले कुनै पनि सुन पसलबाट उधारोमा सुन नलिएको स्पष्ट पार्दै पछिल्लो समय आफूलाई बदनाम गर्न मेयर महेश चौधरीले सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएका छन्।
हालै विकास ट्रेडर्स नामक सुन पसलले लहान नगरपालिका कार्यालयमा दिएको निवेदनमा उपमेयर महतोले २ लाख ५१ हजार ४३० रुपैयाँ बराबरको सुन उधारोमा लिएको तर हालसम्म रकम नतिरेको दाबी गरिएको छ। तर उपमेयर महतोले यस्तो कुनै सुन लिएको कुरा साँचो नभएको भन्दै ती सबै आरोपहरू झूठा र राजनीतिक प्रतिशोधका आधारमा लगाइएको बताएका छन्।
“मैले कसैबाट सुन उधारो लिएको छैन, त्यो प्रमाणित गर्न सकिन्छ। बरु, नगरप्रमुख महेश चौधरीको इसारामा मलाई फसाउने, चरित्र हत्या गर्ने नियतले सुन पसलधनीलाई प्रयोग गरिएको छ,” महतोले भने। उनले थपे, “यदि मैले सुन लिएको छु भने प्रमाण पेस गरियोस, हैन भने चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन।”
महतोले यस्ता झूटा उजुरीहरू नगरप्रमुखको निर्देशनमा गराइएका दाबी गर्दै चौधरीमाथि पटक–पटक षड्यन्त्र र मानसिक दवाव सिर्जना गर्ने नियतले काम गरिएको आरोप लगाए। विकास ट्रेडर्सको उजुरी फेसबुकमा समेत सार्वजनिक भइसकेको छ, जसमा मेयर चौधरीले उजुरी बोर्ड बैठकमा पेस गर्न आदेश दिएको उल्लेख छ।

नगरको प्रमुख पद जस्तो जिम्मेवार स्थानमा बसेर सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई मिलाएर नगर विकासमा लाग्नुपर्नेमा चौधरी व्यक्तिगत रिसइवीको आधारमा अधिकार दुरुपयोग गर्दै आएको भन्दै उपमेयर महतोले आपत्ति जनाएका छन्।
यस प्रकरणलाई लिएर स्थानीय बुद्धिजीवी, नागरिक समाज तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मेयर चौधरीको आलोचना गरेका छन्। “मेयरले राजनीतिक पदको दुरुपयोग गर्दै उपमेयर महतोमाथि लगाइएको आरोप दुर्भाग्यपूर्ण छ। जनताको काम गर्नुको सट्टा द्वन्द्व फैलाउनु उपयुक्त होइन,” एक स्थानीय नेताले भने।
स्थानीय नागरिकहरूले नगर प्रमुख र उपप्रमुखबीच उत्पन्न द्वन्द्व समाधान गर्न दुबै पक्षलाई मिलेर काम गर्न सुझाव दिएका छन्। जनताले विकास र सेवा चाहन्छन्, राजनीतिक प्रतिशोध होइन भन्ने आवाज चुलिँदै गएको छ।
यसरी निरन्तर विवादमा रहँदै आएको लहान नगरपालिकाको नेतृत्वले अब सहकार्य र समन्वयमार्फत जनहितमा अघि बढ्नुपर्ने माग जनस्तरबाट उठेको छ।