डा. न्यान्सी ह्याम्बर्टको स्मृतिमा नेपालका उर्लाबारी र कटारीमा श्रद्धाञ्जली कार्यक्रम


सितल साह, उदयपुर, ०६ मंसिर ०८३ ।। । बेलायत (लन्डन) बाट सञ्चालित अन्तर्राष्ट्रिय संस्था ‘वन चाइल्ड वन ड्रीम’ (One Child One Dream–OCOD) की संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. जुलिया ह्याम्बर्टकी छोरी एवं संस्थाकी वित्तीय व्यवस्थापन प्रमुख डा. न्यान्सी ह्याम्बर्टको सडक दुर्घटनामा परी भएको असामयिक निधनप्रति नेपालका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
डा. न्यान्सीको निधनप्रति शोक व्यक्त गर्दै लोकज्योति उत्थान केन्द्र (Lokjyoti Upliftment Center) अन्तर्गत सञ्चालित विद्यालय स्वास्थ्य कार्यक्रम (SAHP–OCOD) को उर्लाबारीस्थित केन्द्रीय कार्यालय र उदयपुरको कटारी शाखामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो। कार्यक्रममा संस्थाका प्रतिनिधि, कर्मचारी तथा संस्थासँग आबद्ध विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्वर्गीय डा. न्यान्सीको तस्बिरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।

संस्थाका अनुसार डा. न्यान्सी ह्याम्बर्टको १७ नोभेम्बर २०२६ मा भएको सडक दुर्घटनामा परी असामयिक निधन भएको हो। उहाँको निधनप्रति नेपालसहित विश्वका ७३ देशमा संस्थासँग आबद्ध प्रतिनिधि तथा सदस्यहरूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी शोक व्यक्त गरेका छन्।
२५ मार्च १९६३ मा बेलायतको सेन्ट्रल लन्डनमा जन्मिनुभएकी डा. न्यान्सी अर्थशास्त्र विषयमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि (PhD) हासिल गर्नुभएकी उच्च शैक्षिक योग्यता र व्यावसायिक दक्षता भएको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले अन्तर्राष्ट्रिय विकास नियोगमा करिब १० वर्ष सेवा गर्नुभएको थियो। त्यसपछि One Child One Dream (OCOD) मा वित्तीय व्यवस्थापन प्रमुखका रूपमा आबद्ध भई संस्थाको आर्थिक व्यवस्थापन तथा कार्यक्रम सञ्चालनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो।

स्वर्गीय पिता चार्ल्स ह्याम्बर्टले सुरु गर्नुभएको सामाजिक सेवाको अभियानलाई निरन्तरता दिन उहाँले आफ्नी आमा डा. जुलिया ह्याम्बर्टलाई निरन्तर साथ र सहयोग गर्दै आउनुभएको थियो। विशेषगरी शिक्षा, बालबालिकाको उज्ज्वल भविष्य तथा सामाजिक उत्थानका क्षेत्रमा सञ्चालित One Child One Dream र School & Health Program मार्फत उहाँले पुर्याउनुभएको योगदान संस्थाका लागि महत्वपूर्ण रहेको बताइएको छ।
शिक्षा र बालबालिकाको भविष्य निर्माणका लागि नेपाललगायत विश्वका ७३ देशमा योगदान पुर्याउँदै आएको OCOD संस्थाकी एक महत्वपूर्ण जिम्मेवार व्यक्तित्वको असामयिक निधनले संस्थालाई अपूरणीय क्षति पुगेको संस्थाका प्रतिनिधिहरूले बताएका छन्। उहाँको ज्ञान, अनुभव, सेवाभाव र संस्थाप्रतिको समर्पण सधैँ स्मरणीय रहने उनीहरूको भनाइ छ।
मानिसको भौतिक जीवन समाप्त भए पनि समाजका लागि गरेका असल काम र योगदान सधैँ जीवित रहने उल्लेख गर्दै संस्थाले डा. न्यान्सी ह्याम्बर्टको जीवन, कर्म र सामाजिक सेवाप्रतिको समर्पण आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने जनाएको छ।
स्वर्गीय डा. न्यान्सी ह्याम्बर्टप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस्।






