मिति:- ३२ जेष्ठ २०८२, शनिबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लहानमा सहिद स्मारक हटाउने प्रयास: जसपा नेपाल आन्दोलनको चेतावनी


सितल साह ,लहान, सिरहा — २०८२ वैशाख १४ गते।
देशमा गणतन्त्र र राष्ट्रियताको स्थापना हेतु भएका गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, लहान नगर कार्य समितिले आज एक प्रेश विज्ञप्ति जारी गर्दै कडा आपत्ति प्रकट गरेको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार रमेश महतो, बेचन यादव, मो. अनिस अंसारी, विजय साहनी र प्रमोद सदाय लगायतका पाँच वीर शहीदहरुको स्मारकलाई सडक निर्माणको नाममा हटाउने प्रयास जारी रहेको छ। जसपा नेपालले स्मारक व्यवस्थापनका लागि विगत दुई वर्षदेखि सर्वपक्षीय संवाद र निर्णयहरू भइकन पनि हालसम्म कुनै ठोस कदम नचालिएकोप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ।

जसपा नेपालले आरोप लगाएको छ कि सडक निर्माण कम्पनी, लहान नगरपालिका र केही राजनीतिक नेतृत्वहरुले स्मारक मेटाउन कपटपूर्ण षड्यन्त्र गरिरहेका छन्। पार्टीले वीर शहीदहरूको अपमानजन्य कुनै कार्य सहन नसकिने स्पष्ट पार्दै, हालको स्थानमै स्मारक यथावत् राखी सडक निर्माण गर्नुपर्ने माग गरेको छ।

नगर अध्यक्ष राम उदगार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्मारक मेटाउने काम हाम्रो पार्टीले कदापि स्वीकार गर्ने छैन। यदि स्मारक हटाउने वा नोक्सानी पुर्याउने कुनै प्रयास गरिएमा हामी बाध्य भएर स्वाभिमान आन्दोलनमा उत्रिनै पर्नेछौं। त्यसबाट उत्पन्न हुने समस्त परिस्थितिको जिम्मेवारी निर्माण कम्पनी र नेपाल सरकारले लिनुपर्नेछ।”

साथै जसपाले लहानका सम्पूर्ण राजनीतिक दल, स्थानीय तह, विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी, किसान, व्यवसायी, युवा तथा विद्यार्थी समुदायलाई एकजुट भई वीर शहीदहरूको सम्मान र स्मारक रक्षाको लागि साथ दिन आह्वान गरेको छ।

“दशकौं अघिदेखि स्थापित रहेकाे सहिद चौक र स्मारकहरू अस्तित्वमा रहनुपर्नेछ। स्मारक तोड्ने र नाम मेटाउने कुनैपनि कार्य हाम्रो पार्टीलाई असह्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

लहान नगर कार्य समिति, जसपा नेपालले जारी गरेको यो प्रेश विज्ञप्ति सँगै मधेशकाे उदगम स्थल लहान क्षेत्रमा फेरि एकपटक आन्दोलनको चेतावनी घनघनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button