लोकज्योती उत्थान केन्द्रद्वारा हिमालय माविमा अभिभावक अन्तरक्रिया तथा सामग्री वितरण ।।@@

सितल साह, सिरहा, धनगढीमाई, १८ भदाै ०८३ । लोकज्योती उत्थान केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत धनगढीमाई नगरपालिका–१२, सिमलटोकीस्थित हिमालय माध्यमिक विद्यालयमा अभिभावक–विद्यालय अन्तरक्रिया, शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य रामप्रसाद महतोको सभा अध्यक्षता सम्पन्न कार्यक्रममा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतो प्रमुख अतिथि रहनुभएको थियो। त्यसतै बिशिस्ट अतिथिहरुमा धनगढीमाई न.पा वडा नं. १२ का वडा अध्यक्ष जय प्रकाश ठाकुर, लोकज्योती उत्थान केन्द्र विद्यालय स्वास्थ्य कार्यक्रमका अध्यक्ष भुपेन्द्र खनाल, केन्द्रको कटारी शाखाका अध्यक्ष तथा शैक्षिक सामग्री सम्पर्क व्यक्ति प्रदीप ढुंगाना, कार्यक्रम सहजकर्ता डा. डि.आर. शर्मा तथा हिमालय माविका प्रधानाध्यापक दिनेश्वर महतोको उपस्थिति रहेको थियो।
कार्यक्रममा लोकज्योती उत्थान केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेका कटारी तथा धनगढीमाई क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूका साथै हिमालय माविका अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिकाको स्थानिय समाजसेवी ,बुद्धिजीवीहरुकाे उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूको शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउन उत्कृष्ट, गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सिल, ज्योमेट्री बक्स, कलर पेन्सिललगायतका शैक्षिक सामग्री तथा विभिन्न खेलकुद सामग्री वितरण गरिएको थियो।
सामग्रीहरू कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, प्रधानाध्यापक, शिक्षक तथा केन्द्रका पदाधिकारीहरूको हातबाट विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थी भाइबहिनीहरूले विभिन्न सांस्कृतिक तथा नृत्य प्रस्तुति समेत दिएका थिए, जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो।
अभिभावक–विद्यालय अन्तरक्रिया कार्यक्रममार्फत पछिल्लो समय बालबालिकामा बढ्दै गएको मोबाइलको अत्यधिक प्रयोग तथा मोबाइल एडिक्सन, लागूऔषध दुरुपयोगको जोखिम, पढाइप्रति घट्दो रुचि र शारीरिक गतिविधिमा आएको कमीबारे अभिभावक तथा सरोकारवालालाई सचेत गराइएको थियो।
त्यस्तै, विद्यार्थीहरूको समग्र विकासका लागि विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई मजबुत बनाउने, पढ्ने बानी (Reading Habit) को विकासमा अभिभावकको भूमिका स्पष्ट पार्ने तथा खेलकुद र अतिरिक्त क्रियाकलापको महत्वबारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध तथा समन्वयलाई थप सुदृढ गर्दै विद्यार्थीहरूको शैक्षिक, शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको