मिति:- ७ भाद्र २०८३, आईतवार | Email:- [email protected] | [email protected] | Contact No.:- +977 981-9757097
Uncategorized

लोकज्योती उत्थान केन्द्रद्वारा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।।



सितल साह, कटारी, उदयपुर ०७ भदाै ०८३ । लोकज्योती उत्थान केन्द्रको “विद्यालय स्वास्थ्य कार्यक्रम” (OUS Project Area) अन्तर्गत विद्यालयस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगिता शनिबार कटारी–७ स्थित श्री जनप्रेमी माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।


सिरहा र उदयपुर जिल्लाका विभिन्न सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागितामा आयोजित प्रतियोगितामा प्रत्येक विद्यालयबाट तीन जना शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा जन प्रेमी मा.बि.रिस्कु , सरस्वती माध्यमिक विद्यालय हर्देनी, मदन भण्डारी स्मृति माध्यमिक विद्यालय सर्रे अम्बास, जनता कालिका माध्यमिक विद्यालय सोरुङ्ग छबिसे, कालिका माध्यमिक विद्यालय बगपती, भीमसेन आदर्श आधारभूत विद्यालय देवधार, चन्द्रमान ढाँटी भर्लेनी, जन ज्याेति मा.बि. माकुरे, श्री माध्यमिक विद्यालय लिम्पाटार, दीपेन्द्र माध्यमिक विद्यालय जोगीडाँडा, सरस्वती माध्यमिक विद्यालय भोर्ले तथा श्री कालिका माध्यमिक विद्यालय रतनपुरलगायतका विद्यालय सहभागी भएका थिए।


प्रतियोगितामा आयोजक टोलीले प्रश्न सोध्ने र पालोअनुसार सम्बन्धित विद्यालयका सहभागी शिक्षक–शिक्षिकाले उत्तर दिने व्यवस्था गरिएको थियो। सही उत्तरका लागि एक अंक प्रदान गरिएको थियो भने गलत उत्तरका लागि निर्धारित नियमअनुसार अंक कट्टा हुने व्यवस्था थियो। सहभागी विद्यालयले प्राप्त गरेको कुल अंकका आधारमा विजेता निर्धारण गरिएको थियो। प्रतियोगितामा शिक्षक–शिक्षिकाहरूबीच ज्ञान, अनुभव र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्राप्त भएको थियो।


प्रतियोगितामा श्री कालिका माध्यमिक विद्यालय कटारी–७ रतनपुरले प्रथम स्थान हासिल गरेको छ। श्री माध्यमिक विद्यालय कटारी–९ लिम्पाटारले द्वितीय स्थान प्राप्त गरेको छ भने श्री सरस्वती माध्यमिक विद्यालय कटारी–११ हर्देनीले तृतीय स्थान हासिल गरेको छ। त्यसैगरी श्री जनज्योती आधारभूत विद्यालय कटारी–७ माकुरेले सान्त्वना स्थान हासिल गरेको छ।


विजेता विद्यालयहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकालाई प्रमाणपत्र, डटपेन, डायरीलगायतका सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा उपस्थित जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई खादा, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथिका रूपमा कटारी नगरपालिका–७ का वडा अध्यक्ष सुबिन ढुङ्गाना रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा कटारी नगरपालिका–६ का वडा अध्यक्ष प्रेमबहादुर मगर, वडा नं. ९ का वडा अध्यक्ष वेगबहादुर आले मगर, वडा नं. ११ का वडा अध्यक्ष अनन्त हायु, वडा नं. ५ का वडा अध्यक्ष मोहन तामाङ, वडा नं. १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्का, धनगढीमाई नगरपालिका–१३ का वडा अध्यक्ष सूर्यमान तामाङ तथा वडा नं. १४ का वडा अध्यक्ष अमित ठाकुरीलगायत सिरहा र उदयपुर जिल्लाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


त्यस्तै विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्थानीयवासी तथा लोकज्योती उत्थान केन्द्र बिद्यालय स्वास्थ्य कार्यक्रमका अध्यक्ष भुपेन्द्र खनाल, उपाध्यक्ष केदारनाथ शर्मा ,बरिस्ठ सदस्य श्री टंकनरायण प्रधान सहायक प्रमुख प्र. अधिकृत सम्झँना सिटाैला , सचिव निराकार श्रेष्ठ , का. सहजकर्ता डि.आर. शर्मा दहाल  लगायतका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। पुरस्कार, प्रमाणपत्र तथा मायाको चिनो लोकज्योती उत्थान केन्द्रका प्रतिनिधि तथा उपस्थित जनप्रतिनिधिहरूको हातबाट वितरण गरिएको थियो।


कार्यक्रमको सञ्चालन त्रिवेणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक युवराज दाहालले गर्नुभएको थियो। कार्यक्रम शान्तिपूर्ण, अनुशासित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


लोकज्योती उत्थान केन्द्रले आगामी दिनमा पनि विद्यालयस्तरमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आगामी १६ गतेभित्र “सामाजिक सञ्जालः ज्ञानको भण्डार कि समयको बर्बादी?” विषयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ। त्यसैगरी सोही मितिमा कविता प्रतियोगिता पनि आयोजना गरिने भएको छ। कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना हुने कविता प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले भदौ १२ गतेभित्र विद्यालयको नाम तथा सहभागी विद्यार्थीहरूको नामावली आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ।


विद्यालयमा नियमित पठनपाठनसँगै अतिरिक्त शैक्षिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन हुँदा शिक्षक तथा विद्यार्थीमा ज्ञान अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना र सिकाइप्रतिको रुचि बढ्ने सहभागीहरूको भनाइ थियो। लोकज्योती उत्थान केन्द्रले विगतदेखि विद्यालयहरूमा सञ्चालन गर्दै आएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण र गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याएको भन्दै कार्यक्रममा सहभागी जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयवासीले आयोजक संस्थाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन शुभकामना दिएका छन्।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker