जसपा नेपालले पाँच कुने तारा चिन्ह दावीप्रति आपत्ति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गरायो।।

सितल साह लहान,०८२ कार्तिक १८।।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो पार्टीको झण्डामा रहेको पाँच कुने तारा चिन्ह अन्य राजनीतिक दलले दावी गर्न खोजेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता मनिष कुमार सुमनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा ९ र दफा ५४ (७) (क) विपरीत जनता समाजवादी पार्टी, नेपालको झण्डामा अंकित रातो पृष्ठभूमिमा रहेको पाँच कुने तारा चिन्हलाई अन्य दलले आफ्नो चुनाव चिन्हको रूपमा प्रयोग गर्न खोजेको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ ।
“जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग हुँदै आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न अनुरोध गर्दछौं । साथै यस विषयमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौं।”
सुमनले यसलाई जसपाको पहिचान, इतिहास र वैधानिक अधिकारमाथिको अतिक्रमणको प्रयास भएको भन्दै यसप्रति आयोगले तुरुन्त ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
जनता समाजवादी पार्टीले आफ्नो झण्डा र चिन्हलाई पार्टीको वैचारिक र ऐतिहासिक प्रतीकको रूपमा व्याख्या गर्दै आएको छ । पार्टीका अनुसार पाँच कुने तारा न्याय, समानता, समावेशिता र समाजवादको प्रतीक हो, जसलाई अन्य दलले प्रयोग गर्नु कानुनी र नैतिक दुवै दृष्टिले अस्वीकार्य हुनेछ ।
