अर्नमा गाउँपालिका वडा नं. २ मा जसपा नेपालको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

सितल साह, लहान ,सिरहा ,०८२ साउन २१ ।।
सिरहा, अर्नमा गाउँपालिका – जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) अर्नमा गाउँपालिका वडा नं. २ मा वडा समिति उपाध्यक्ष कारि सिंहको अध्यक्षतामा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
वडास्तरीय संगठन सुदृढीकरण र विस्तारको उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलहरू परित्याग गरी दर्जनौं नेता–कार्यकर्ताहरूले जसपा नेपालमा औपचारिक रूपमा प्रवेश गरेका छन्। कार्यक्रममा माओवादी केन्द्र परित्याग गरेका पूर्व निर्वाचित वडा सदस्य नथुनि महतोको नेतृत्वमा २०० जना र एमाले परित्याग गरी सन्तोष कुमार साहको नेतृत्वमा ५० जना नवप्रवेशीहरूले जसपा नेपालको सदस्यता ग्रहण गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य असेस्वर यादव थिए भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य चन्देश्वर पासमान, जिल्ला अध्यक्ष अशोक यादव, प्रेस मञ्च प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव लगायत अन्य नेताहरूको गरिमामय उपस्थिति रहेको थियो।

अन्य विशिष्ट अतिथिहरूमध्ये हरेराम यादव, बिहारी दास र सचिव विश्वदेव ठाकुर पनि सहभागी थिए। कार्यक्रममा स्वागत मन्तव्य वडा सह-सचिव सूर्यनाथ महतोले प्रस्तुत गरेका थिए।
कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीको आधिकारिक सदस्यता प्रदान गर्दै अबिर टीका लगाइ जसपा नेपालको पक्षमा दृढ संकल्पका साथ अगाडि बढ्न प्रेरणा दिइयो।
पार्टी प्रवेश गरेपछि सम्बोधन गर्ने क्रममा अतिथिहरूले नवप्रवेशीहरूलाई पार्टीका सिद्धान्त र विचारधारामा अडिग रही मधेश र जनताको अधिकारका लागि संघर्षरत रहन आग्रह गरे। उनीहरूले पार्टी विस्तारका यस्ता कार्यक्रमले संगठनलाई बलियो बनाउने भन्दै यस्ता कार्यक्रमलाई नियमितता दिने प्रतिबद्धता जनाएका थिए।
जसपा नेपालको यो कार्यक्रमले अर्नमा गाउँपालिकामा राजनीतिक समीकरणलाई नयाँ दिशा दिने अनुमान गरिएको छ। पार्टी प्रवेश गर्नेहरू सबैले संगठनमा पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन्।
पार्टीको सांगठनिक विस्तारसँगै स्थानीय स्तरमा जनताका मुद्दा उठाउने अभियानलाई थप सशक्त बनाइने समेत कार्यक्रममा घोषणा गरिएको छ।