स्व.प्रदिप गिरिकाे दाेश्राे वार्षिकी काठमाडौंमा सम्पन्न ।।
लहान, १४ बस्तिपुर निवासि स्व. प्रदीप गिरीको दोस्रो स्मृतिमा "स्कूल अफ डेमोक्रेसी" ले आयोजना गरेको "राजनीतिमा निष्ठा र नैतिकता" विषयक बिमर्श कार्यक्रम २०८१ सालको भदाै ०५ गते काठमाडौंमा सम्पन्न भएकाे छ
सितल साह, सिरहा ,भदाै ५ गते ।।लहानकाे वडा नं.-१४ बस्तिपुर निवासि स्व. प्रदीप गिरीको दोस्रो स्मृतिमा “स्कूल अफ डेमोक्रेसी” ले आयोजना गरेको “राजनीतिमा निष्ठा र नैतिकता” विषयक बिमर्श कार्यक्रम २०८१ सालको भदाै ०५ गते काठमाडौंमा सम्पन्न भएकाे छ। कार्यक्रम नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री मा. शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमको प्रारम्भमा स्व. प्रदीप गिरीको योगदानलाई स्मरण गर्दै बिभिन्न वक्ताहरुले आफ्ना धारणा राखेका थिए। प्रमुख अतिथि देउवाले स्व. गिरीलाई निष्ठा, ईमानदारी, र लोकतान्त्रिक विचारका प्रतीकका रूपमा स्मरण गर्दै, उनको जीवनको आदर्श र मुल्यलाई नेपाली राजनीतिमा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्व. गिरीलाई बौद्धिक क्षमतावान र उच्च विचारका नेता भनेका थिए, जसले नेपाली राजनीतिमा नैतिकता र ईमानदारिता प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिशिष्ट अतिथिहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. माधव नेपाल, नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री मा. शक्ति बस्नेत, नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री मीन बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
मा. माधव नेपालले स्व. गिरीलाई सम्झिँदै उहाँको दृढ विचार, ईमानदारिता र निष्ठा प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले राजनीतिमा नैतिकता र निष्ठाको कमीले देशलाई अराजकता र अस्थिरतामा पुर्याएको भन्दै, त्यसको समाधानको लागि स्व. गिरीका विचार र आदर्शबाट सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्व. गिरीको विचारलाई आधुनिक नेपालको राजनीतिक धरोहरको रूपमा प्रस्तुत गर्दै, उहाँले जीवनभर समाजका निम्ति गरेको योगदानलाई स्मरण गर्नुभयो। उहाँले गिरीलाई नेपाली राजनीतिमा ईमानदारी र निष्ठाको पाठ सिकाउने शिक्षकको रूपमा उल्लेख गर्नुभयो।
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले स्व. गिरीको बहुआयामिक व्यक्तित्वलाई सम्मान गर्दै, नेपाली राजनीतिमा गिरीको स्थान सदैव विशेष रहने बताउनुभयो। उहाँले स्व. गिरीका विचार र नीतिहरू नेपाली समाजमा अझै सान्दर्भिक रहेको र त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेसका सहमहामन्त्री मीन बिश्वकर्माले पनि स्व. गिरीको आदर्शलाई सम्झिँदै, उहाँका विचार र दृष्टिकोणले नेपाली राजनीतिलाई नयाँ दिशा दिनसक्ने बताउनुभयो। उहाँले राजनीतिमा निष्ठा र नैतिकताको महत्वमाथि चर्चा गर्दै, गिरीको जीवनबाट सधैं र धेरै प्रेरणा लिनुपर्ने बताए।
कार्यक्रममा विभिन्न वक्ताहरूले स्व. प्रदीप गिरीको जीवन र योगदानमाथि प्रकाश पारे। उपस्थित नेताहरूले गिरीको जीवनदर्शन, विचार, र आदर्शलाई नेपाली समाज र राजनीतिमा अवलम्बन गर्नुपर्ने भन्दै, उहाँको योगदानको कदर गरे। कार्यक्रमको अन्त्यमा स्व. गिरीको आत्माको चीर शान्तिको कामना गर्दै, उपस्थित सबैले उहाँको योगदानको स्मरणमा मौन धारण गरेका थिए।