मिति:- १७ कार्तिक २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

सुवर्ण गाउँपालिकामा दारु पार्टी विवाद, विरोध गर्ने दिपेन्द्रलाई अध्यक्ष निकट कार्यकर्ताबाट धम्की

लहान टुडे संवाददाता , ०८२ कार्तिक ०८।।
बारा जिल्लाको सुवर्ण गाउँपालिकामा स्थानीय सरकार विवादमा तानिएको छ। गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवमाथि कार्यालयमै राति मदिरा पार्टी र नाचगान कार्यक्रम आयोजना गरी युवतीहरूलाई बोलाएको आरोप लागेको छ। असोजको दशैंको सातौं दिन राति अध्यक्षका छोरा सन्दीप यादव र भाइ राम नरेश प्रसाद यादव र उनका नजिकका सहयोगीहरूले कार्यालयभित्र दारु, मासु र मनोरञ्जनको कार्यक्रम आयोजना गरेका थिए। स्थानीय बासिन्दाहरूका अनुसार सो कार्यक्रममा युवतीहरूलाई समेत बोलाएर मौजमस्ती गरिएको थियो।

घटनाबारे प्रश्न गर्न पुगेका केही स्थानीय युवाहरूमाथि अध्यक्षका छोरा र भाई र कार्यकर्ताले उल्टै गालीगलौज गर्दै धम्की दिएको आरोप छ। सो घटनापछि आक्रोशित स्थानीयहरूले गाउँपालिका कार्यालय घेरा हालेका थिए। स्थिति नियन्त्रण गर्न प्रहरीले चार राउन्ड हवाई फायर गर्नुपरेको बताइएको छ। तर प्रहरी प्रशासनले राजनीतिक दबाबका कारण घटनाबारे मौनता अपनाएको भन्दै स्थानीयहरू असन्तुष्ट बनेका छन्।

घटनापछि मलेसियामा कार्यरत स्थानीय युवा दिपेन्द्र कुमार यादवले फेसबुकमार्फत विरोध जनाएपछि विवाद झनै चर्किएको हो। दिपेन्द्रका परिवारका अनुसार, विरोध पोस्ट गरेपछि गाउँपालिका अध्यक्षका छोरा र उनका समर्थकहरूले दिपेन्द्रलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका थिए। अध्यक्ष निकटका एक स्थानिय प्रहरी धनन्जय यादव र अध्यक्षका छोराले “मलेसियामा कुन ठाउँमा छस्, त्यहीँ गुण्डा पठाएर मारिदिन्छु” भन्ने धम्की दिएको र सो कुराको कल रेकर्डिङ समेत सुरक्षित रहेको परिवारले बताएको छ।

स्थानीय प्रहरी अधिकारी धनन्जय यादव माथि पनि आरोप लागेको छ कि उनले गाउँमा गएर दिपेन्द्रका परिवारलाई “भिडियो नबनाऊ, नत्र परिणाम भयानक हुन्छ” भन्दै धम्की दिएका थिए। उनीहरूले दिपेन्द्रको घरमै पुगेर उनका १५ वर्षीय छोरालाई समेत कुटपिट गरेको आरोप पनि लगाएका छन्।
स्थानीयहरूका अनुसार प्रहरी प्रशासन र गाउँपालिकाका पदाधिकारीहरू सत्ताको चपेटामा परेर निष्पक्ष काम गर्न नसकिरहेका छन्।

यता गाउँपालिका अध्यक्षका छोरा भने घटनामा आफ्नो संलग्नता नकार्दै आएका छन्। उनले दशैंको अवसरमा गाउँपालिकामा नाचगान गर्न आएका कलाकार र पाहुनाहरूका लागि खानाबस्ने व्यवस्थाको जिम्मा मात्र आफूले लिएको बताएका छन्। “दारु पार्टी वा अनैतिक गतिविधिमा मेरो कुनै संलग्नता छैन,” उनले स्पष्ट पारेका छन्। गाउँपालिका अध्यक्ष राजेश यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन्।

स्थानीय बासिन्दाहरूले घटनाप्रति तीव्र आपत्ति जनाउँदै सार्वजनिक कार्यालयमा यस्ता अनैतिक गतिविधि हुनु र त्यसको विरोध गर्ने नागरिकमाथि धम्की दिनु लोकतान्त्रिक मूल्य र शासन व्यवस्थाको अपमान भएको बताएका छन्। उनीहरूले केन्द्र सरकार र प्रहरी प्रशासनसँग निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेका छन्।

भर्खरै सम्पन्न Gen-Z आन्दोलनपछि स्थानीय युवाहरू राजनीतिक र प्रशासनिक पारदर्शिताको मागमा सक्रिय बनेका बेला सुवर्ण गाउँपालिकाको यो घटना स्थानीय सरकारको उत्तरदायित्व र विश्वसनीयतामाथि गम्भीर प्रश्न बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button