लहानमा उपेन्द्र यादवको उपस्थितिमा सयौं कार्यकर्ता जसपा नेपालमा प्रवेश ।।

लहान, २० असोज (सितल साह) — सिरहाको लहानमा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सोमबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष अशोक यादवले गरेका थिए भने प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव रहेका थिए। कार्यक्रममा केन्द्रीय सचिव सुरेश मण्डल, केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता (राजु), मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेश सांसद ललिता दास, सञ्जिला यादव, सहीदा खातुन, डोटीम अध्यक्ष चन्देश्वर पासमान , प्रेस मञ्च नेपालका मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादब , पत्रकार लगायतका विशिष्ट अतिथिहरूको उपस्थिती उल्लेखनीय रहेको थियो।
कार्यक्रममा बितेको विजया दशमी तथा आउँदो दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने नेताहरूलाई औपचारिक रूपमा स्वागत तथा सम्मान गरिएको थियो। नेकपा (एस) पार्टीका नेता सत्यनारायण यादव लगायत नेकपा (एमाले) ,नेपाली काङ्ग्रेस,नेकपा एसका सयौं कार्यकर्ताले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले स्वयं नव प्रवेशीहरूलाई अबिर, टीका र माला लगाई स्वागत तथा सम्मान गरेका थिए। त्यसैगरी लहान–११ का पुराना बामपन्थी नेता खडकनारायण चौधरीसहितका नेता तथा कार्यकर्ताहरू पनि जसपामा प्रवेश गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देश बर्बादीको मूल कारण नेपाली कांग्रेस र एमालेको अहंकार, भ्रष्टाचार र गैरजिम्मेवार नीतिहरू भएको बताउँदै यी दलहरूले देशलाई केवल बर्बाद मात्र होइन, धरातलमा पुर्याएको आरोप लगाए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति द्वारा विज्ञ टोलीको मन्त्रीमण्डल गठन हुनुपर्ने माग दोहोर्याउँदै भने, यी मागहरू जसपाले पहिले उठाएको हो, जुन अहिले जेनजि आन्दोलनले पनि उठाइरहेको छ, त्यसैले हामी जेनजि पुस्तासँग काधमा काध मिलाएर अघि बढ्नेछौं।
अध्यक्ष यादवले मधेशले संघीयता ल्याउन ठूलो बलिदान दिएको स्मरण गर्दै अहिलेका खस–केन्द्रित सरकारहरूले षड्यन्त्रपूर्वक २२ जिल्लाको मधेश प्रदेशलाई ८ जिल्लामा सीमित पारेको बताए। उनले मधेश प्रदेशमा आफ्नै प्रहरी, ऐन–कानून, लोकसेवा आयोग र स्वशासित प्रणाली हुनुपर्नेमा जोड दिँदै सुबिधा सम्पन्न प्रदेश बनाई संघीयताको आत्मा जोगाउन सबै मधेशीहरू एकजुट हुनुपर्ने बताएका थिए।
उनले अन्य दलका मधेश–केन्द्रित सांसदहरू अझै पनि आफ्नो पार्टीकै आदेशमा चल्ने गुलाम मानसिकताबाट ग्रस्त रहेको उल्लेख गर्दै जसपा नेपालले नै मधेशलाई मरुभूमि बन्नबाट जोगाएको दाबी गरे। उनले भने, भूमि विधेयकमा हाम्रो पार्टी अडिग रह्यो, तर अन्य दलका सांसदहरूले संसदमा आफ्नो पार्टीकै समर्थन गर्दै मधेशको विश्वासघात गरे, जसपाले त्यसको विरोध गर्दै मधेशको भूमि र अधिकार बचाएको हो।

मधेश प्रदेश सांसद ललिता दासले जसपा र जेनजि आन्दोलनको माग एकरूप रहेको बताउँदै सुशासन, भ्रष्टाचार उन्मूलन र कार्यकारी प्रणालीका लागि संयुक्त संघर्षको आवश्यकता रहेको भनिन्। केन्द्रीय सदस्य राजकुमार गुप्ता (राजु)ले आफ्नो क्षेत्रमा हालसम्म प्रदेशका ८८ वटा विकास निर्माणका योजना अन्तर्गतका कामहरू कतिपय भईसकेका र कतिपय भइरहेको जानकारी दिंदै जसपा नेपालको प्रदेश विकासमा अग्रणी भूमिका रहेको बताए।
त्यस्तै केन्द्रीय सचिव सुरेश मण्डलले संघीयता र समावेशिताका लागि भएका आन्दोलनहरूको इतिहास स्मरण गर्दै मधेश आन्दोलनमा २२५ जनाले र हालको जेनजि आन्दोलनमा ७६ जनाले बलिदान दिएको तथ्य प्रस्तुत गरे। उनले संघीयता कसैले दानमा दिएको होइन, मधेशी जनताको बलिदानको परिणाम हो भन्दै अहिले पनि संघीयता र लोकतन्त्र बचाउन संघर्ष गर्न तयार रहेको दृढता व्यक्त गरे।
कार्यक्रममा उपेन्द्र यादवले संघीयता, सुशासन र समाजवादलाई अहिलेको प्रमुख आवश्यकता भन्दै संविधान संशोधनको माध्यमबाट मात्र देशमा सुशासन सम्भव हुने बताए। उनका अनुसार भ्रष्टाचार तबमात्र अन्त्य हुन्छ जब प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी हुने व्यवस्था लागू हुन्छ। उनले लोकतन्त्र रह्यो भने मात्र संविधान बचाउन र संशोधन गर्न सकिने बताए।
कार्यक्रम सिरहाको लहान–१ स्थित गोपाल सेवा सदनमा सम्पन्न भएको थियो, जसमा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिती रहेको थियो। कार्यक्रमले जसपा नेपाललाई मधेश राजनीतिमा थप सशक्त बनाउने संकेत दिएको छ। नवप्रवेशीहरूको लहर र अध्यक्ष यादवको दृढ राजनीतिक सन्देशले पार्टीमा नयाँ ऊर्जा र दिशाको सुरुवात भएको देखिएको छ।



