लोकज्योति उत्थान केन्द्रद्वारा अन्तरविद्यालय वादविवाद तथा कविता लेखन प्रतियोगिता सम्पन्न।।

सितल साह, उदयपुर ,कटारी, २८ भदौ २०८३ ।। लोकज्योति उत्थान केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रम (OUS Project Area) अन्तर्गत उदयपुर र सिराहा जिल्लाका विद्यालयका विद्यार्थीहरूबीच अन्तरविद्यालयस्तरीय वादविवाद तथा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ।
कटारी नगरपालिका–७ रिस्कुस्थित जनप्रेमी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा सिराहाको धनगढीमाई क्षेत्रका ३ विद्यालय, उदयपुरको कटारी क्षेत्रका ८ विद्यालय तथा चौदण्डीगढी नगरपालिकाको १ विद्यालय गरी विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट दुई–दुई जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा विद्यार्थीहरूले ‘सामाजिक सञ्जालको प्रयोग : ज्ञानको भण्डार कि समयको बर्बादी?’ विषयमा पक्ष र विपक्षमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले विषयवस्तुको ज्ञान, तर्क, प्रस्तुति शैली तथा अभिव्यक्ति क्षमतामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा तीन जना निर्णायकले विद्यार्थीहरूको प्रस्तुति मूल्यांकन गरी उत्कृष्टताको आधारमा विजेता घोषणा गरेका थिए।

वादविवाद प्रतियोगितामा जनप्रेमी माध्यमिक विद्यालय, कटारी–७ रिस्कुकी आशिका राई प्रथम, जनता कालिका माध्यमिक विद्यालय, सोरुङकी वेदकुमारी थापा द्वितीय, सरस्वती माध्यमिक विद्यालय, हार्देनीकी आत्मिका कार्की तृतीय तथा दीपेन्द्र माध्यमिक विद्यालय, जोगीडाँडाकी दिव्या लुङ्गेली मगर सान्त्वना भएकी छन्।
त्यस्तै, कविता लेखन प्रतियोगितामा दीपेन्द्र माध्यमिक विद्यालय, जोगीडाँडाका भेषराज विक प्रथम, कालिका आधारभूत विद्यालय, बगपतीकी बालिकाकुमारी नेपाली द्वितीय, जनप्रेमी माध्यमिक विद्यालय, रिस्कुका भूपेन्द्र खड्का तृतीय तथा मदन भण्डारी स्मृति माध्यमिक विद्यालयका रिता मगर सान्त्वना भएका छन्।
कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थी, अभिभावक, स्थानीयवासी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाको उल्लेख्य सहभागिता रहेको थियो। विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको हातबाट प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई लोकज्योति उत्थान केन्द्रका पदाधिकारीहरूले मायाको चिनोसमेत प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमन्त्री तथा उदयपुर निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य रामकुमार खत्री रहेका थिए। विशिष्ट अतिथिका रूपमा कटारी निवासी समाजसेवी तथा बुद्धिजीवी दीपक राय , लोकज्योति उत्थान केन्द्र विद्यालय स्वास्थ्य कार्यक्रमका अध्यक्ष भूपेन्द्र खनाल, कार्यक्रम सहजकर्ता डा. डि.आर. शर्मा, कटारी शाखाका अध्यक्ष प्रदीप ढुंगाना, OUS Project Area का अनुगमन सहायक अधिकृत यदुनाथ ढुंगाना, सामाजिक परिचालिका सन्तोषी चौधरी, जनप्रेमी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार दनुवार, प्रधानाध्यापक डोमिला धमला तथा शिक्षक समूहका संयोजक एवं सरस्वती माध्यमिक विद्यालय, भोर्लेका प्रधानाध्यापक रेवतीप्रसाद ढुंगाना लगायत सहभागी थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामकुमार खत्रीले लोकज्योति उत्थान केन्द्रले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रभावकारी र प्रशंसनीय रहेको बताए। विद्यार्थीको शैक्षिक स्तर सुधारसँगै उनीहरूको सिर्जनात्मक क्षमता, प्रतिभा तथा आत्मविश्वास विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। केन्द्रले स्थानीय क्षेत्रमा शिक्षा र विद्यार्थी विकासका लागि गरिरहेको योगदान अविस्मरणीय रहेको भन्दै उनले धन्यवादसमेत व्यक्त गरे। साथै, आगामी दिनमा आफ्नो तर्फबाट आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको बताए।

लोकज्योति उत्थान केन्द्रले OUS Project Area अन्तर्गत विभिन्न विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुका साथै विद्यार्थीको सिर्जनात्मक क्षमता र प्रतिभा विकासका लागि वादविवाद, कविता लेखन, हाजिरीजवाफलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ।
केन्द्रका अनुसार यस्ता प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, तार्किक क्षमता, नेतृत्व क्षमता, सार्वजनिक रूपमा आफ्ना विचार राख्ने आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने बताउनु भएकाे छ।