मिति:- २१ भाद्र २०८३, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

लाेकज्याेति उत्थान केन्द्रद्वारा भिमसेन आदर्श आविमा शैक्षिक तथा खेलकुद सामग्री वितरण ।

सितल साह , उदयपुर २१ भदाै ०८३ । लोकज्योती उत्थान केन्द्र “विद्यालय स्वास्थ्य कार्यक्रम”OUS  Project Area अन्तर्गत  चौदण्डीगढी नगरपालिका–१०, देवधारस्थित भिमसेन आदर्श आधारभूत विद्यालयमा अभिभावक अन्तरक्रिया तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौदण्डीगढी नगरपालिका–१० का वडा अध्यक्ष धर्मेन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रकाे बिशिस्ट अतिथिमा लोकज्योती उत्थान केन्द्र विद्यालय स्वास्थ्य कार्यक्रमका अध्यक्ष भूपेन्द्र खनाल, कार्यक्रम सहजकर्ता डा. डि.आर. शर्मा , सहायक प्रमुख प्रशासकीय अधिकृत सम्झना सिटौला, कटारी शाखाका अध्यक्ष प्रदीप ढुंगाना, OUS Project Area का अनुगमन सहायक अधिकृत यदुनाथ ढुंगाना तथा केन्द्रकी सामाजिक परिचालिका सन्तोषी चौधरी ,भिमसेन अदर्श आ.बि. देवधारका प्र.अ. मञ्जु कुमारी राय , पञ्चकन्या मा.बि ओखलढुंगाका प्र.अ.शान्तिमान रायलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा लोकज्योती उत्थान केन्द्रको विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेका सिरहा तथा उदयपुर–कटारी ओखलढुंगा क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक, सहयोगदाता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, डटपेन, पेन्सिल, डायरी, कटर, इरेजरलगायतका शैक्षिक सामग्री तथा फुटबल, ब्याडमिन्टन, कर्कलगायतका खेलकुद सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउनुका साथै उनीहरूमा खेलकुद तथा अतिरिक्त क्रियाकलापप्रति रुचि बढाउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी शिक्षक–शिक्षिका तथा अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।


विद्यार्थीहरूको शैक्षिक अवस्था सबल तथा गुणस्तरीय बनाउन कार्यक्रमका क्रममा विद्यार्थी र अभिभावकसँग बृहत् अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा घरमा अभिभावकले आफ्ना नानीबाबुसँग गर्ने व्यवहार, उनीहरूको पढाइमा अभिभावकको भूमिका, मोबाइलको अत्यधिक प्रयोग तथा त्यसबाट विद्यार्थीको अध्ययनमा पर्न सक्ने असरका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी विद्यार्थीहरूलाई लागूऔषधको दुरुपयोगबाट जोगाउने उपाय, नियमित पढ्ने बानीको विकास, घरमै अध्ययनका लागि उपयुक्त वातावरण निर्माण तथा खेलकुद र अतिरिक्त क्रियाकलापको महत्वबारे समेत अभिभावक तथा विद्यार्थीलाई जानकारी गराइएको थियो।


कार्यक्रममा अभिभावक, शिक्षक र विद्यालयबीच प्रभावकारी समन्वय र सहकार्य भएमा मात्र विद्यार्थीको शैक्षिक तथा समग्र विकास प्रभावकारी रूपमा अघि बढाउन सकिनेमा जोड दिइएको थियो। बालबालिकाको पढाइ र व्यवहार सुधारमा विद्यालयको भूमिका जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण भूमिका घर र अभिभावकको समेत हुने भएकाले विद्यालय र घरबीच निरन्तर सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।


लोकज्योती उत्थान केन्द्रले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक विकाससँगै स्वास्थ्य, अनुशासन, सकारात्मक व्यवहार, पढ्ने संस्कार, खेलकुद तथा सामाजिक विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


भिमसेन आदर्श आधारभूत विद्यालयमा सम्पन्न कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै बालबालिकाको उज्ज्वल भविष्यका लागि घर र विद्यालय दुवैको समान जिम्मेवारी रहने सन्देश दिएको छ।

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker