लहानका मेयर महेश चाैधरी र अधिकृत झाकाे एकलाैटी शासन:उपमेयर रामचलितर महताेले जवाफ मागदै ।।

सितल साह , लहान, सिरहा , ०१ असार — लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले नगर प्रमुख महेश चौधरी र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झामाथि मिलेमतोमा एकलौटी शैलीमा पालिका सञ्चालन गर्दै आएको, आफूमाथि अधिकार हरण गरिएको, र व्यापक अनियमितता तथा भ्रष्टाचार भइरहेको गम्भीर आरोप लगाएका छन्।
उपप्रमुख महतोका अनुसार लहान नगरपालिकामा संघीय लोकतान्त्रिक संरचना अनुसार कानुनले उपप्रमुखलाई दिएको अधिकार र भूमिकालाई योजनाबद्धरूपमा बेवास्ता गर्दै नगरप्रमुख चौधरी र अधिकृत झाले पालिकाभित्र एकल निर्णयको शैलीलाई संस्थागत बनाएका छन्।
उनले योजना छनोटदेखि बजेट विनियोजन र कार्यान्वयनसम्म पारदर्शिता नरहेको, कुनै आधिकारिक बैठकबारे जानकारी नदिई नगर परिषद् जस्ता महत्वपूर्ण निर्णय एकल ढंगले लिइएको, उपमेयरको अधिकारमा रहेको अनुगमन कार्य समेत खोसिएको र न्याय समितिमाथि समेत हस्तक्षेप गरेर आफ्नो नियन्त्रणमा राख्न खोजिएको बताएका छन्।
चाइना रेलवे कम्पनीसँगको मिलेमतोमा अबैध ढुवानी कार्य गराइएको र त्यसबाट बिग्रिएको सडकलाई नगरपालिकाकै रकम प्रयोग गरेर कालोपत्रे गराई मेयर चौधरीले कमिशन लिएको आरोप पनि महतोले लगाएका छन्। साथै, मेयर र प्रशासकीय अधिकृतको निर्देशनमा उपमेयरका लागि छुट्याइएको चारपाङ्ग्रे सवारी साधन जबर्जस्ती नगर प्रहरी प्रयोग गरेर खोसिएको घटना पनि उनले सार्वजनिक गरेका छन्।
महतोले प्रशासकीय अधिकृत झामाथि नगर प्रमुखको इसारामा मात्र चल्ने, उपप्रमुखको कुनै निर्देशनको पालना नगर्ने, फोन नउठाउने, कर्मचारीहरूलाई पनि उपप्रमुखको निर्देशन नमान्न आन्तरिक आदेश दिने, बजेट निर्माण र योजना छनोटमा बेवास्ता गर्ने जस्ता व्यवहार गर्दै आएको बताएका छन्।
यसरी उपेक्षित बनेका उपप्रमुख महतोले प्रमुख प्रशासकीय अधिकृत झालाई लिखित जवाफ माग गर्दै हालसम्म भएका निर्णय प्रक्रिया, बजेट वितरण, योजना कार्यान्वयन र प्रशासनिक गतिविधिमा पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गरेका छन्। उनले भने, “संघीय संरचनामा उपप्रमुखको हैसियत कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि कार्यान्वयनमा मलाई निरन्तर पन्छाउने काम भइरहेको छ। यसले शुद्ध प्रशासनिक आचरणलाई अपमानित गरेको छ।”
प्रमुख प्रशासकीय अधिकृत झाले भने आफू कार्यपालिकाको निर्देशन अनुसार चल्ने अधिकारी रहेको र मेयर र उपमेयर दुवैको आदेश बराबर हुने बताउँदै विवादमा तटस्थ रहने संकेत दिएका छन्।अधिकृत झा ले उपप्रमुख लाईचिठि काटेर बैठकमा बाेलाउदा पनि नआउने गम्भीर आरोप लगाएका छन।
तर, उपप्रमुख महतोको गुनासोलाई लिएर लहानका नागरिक समाज, सञ्चारकर्मी र स्थानीयवासीहरूबीच चासो बढेको छ। नगरभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवादले विकास, योजना निर्माण, बजेट कार्यान्वयन र जनसेवामा प्रत्यक्ष असर गरिरहेको भन्दै जनस्तरमा चिन्ता गहिरिँदै गएको छ।
नगर कार्यपालिकाभित्रको आपसी समन्वयको अभाव, पारदर्शिताको संकट र सत्ताको केन्द्रिकरणप्रति उठेका प्रश्नहरूले लहान नगरपालिकाको कार्यसम्पादन र स्थानीय सरकारको विश्वसनीयता गम्भीर संकटमा परेको देखिएको छ। समाधानको पहल नभएमा यो विवादले समग्र स्थानीय शासन प्रणालीमाथि नकारात्मक असर पार्ने प्रष्ट संकेत देखिएको छ।