प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अध्यक्षमा पुनः अभरेन्द्र यादव,अधिवेशन भव्य रुपमा सम्पन्न ।।

सितल साह , लहान, सिरहा, ०८२ भदौ १८ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा पुनः अभरेन्द्र यादवलाई सर्वसम्मत रूपमा चयन गरेको छ भने मुख्यसचिवमा प्रवेश कुमार मिश्र निर्वाचित भएका छन्। सिरहाको मिर्चैया नगरपालिकास्थित खुश्वु होटलमा दुई दिनसम्म चलेको अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
अध्यक्ष यादवलाई निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीका अनुसार सर्वसम्मत रूपमा चयन गरिएको हो। अधिवेशन दुई पक्षीय सहमतिमै सम्पन्न भएको बताइएको छ। यस समितिमा उपाध्यक्षमा धनुषाका रामहृदय यादव र माला राय चयन भएका छन्। त्यस्तै सचिवमा महोत्तरीका नागेन्द्र यादव र पर्साकी प्रभा कुमारी यादव रहेका छन् भने समावेशी सचिवमा रौतहटका राम पुकार राउत र सर्लाहीका सरोज कुमार यादव चयन भएका छन्। कोषाध्यक्षमा राजेश कुमार सिंह जिम्मेवारी पाएका छन्।
सदस्यहरूमा रौतहटका उमेश यादव, बाराका राजेश प्रसाद यादव, सिरहाका शितल साह र ओमप्रकाश यादव, धनुषाका विनय कुमार अधिकारी र ब्रह्मानन्द ठाकुर तथा रौतहटकै मेवालाल यादव रहेका छन्। महिला सदस्यमा रश्मी पटेल, आदिवासी जनजाति तर्फ सिरहाका जितेन्द्र सिंह दनुवार र सर्लाहीका ज्ञानेश्वर मण्डल तथा मुस्लिम सदस्यमा साविर आलम चयन भएका छन्।

दुई दिनसम्म १७ र १८ भदौमा सम्पन्न अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनको उद्घाटन अध्यक्ष अभरेन्द्र यादवको अध्यक्षतामा भएको हो। जसपा नेपालका केन्द्रीय सचिव सुरेशकुमार मण्डल प्रमुख अतिथि तथा प्रमुख वक्ताको रूपमा सहभागी थिए भने विशिष्ट अतिथि र वक्तामध्ये कार्यकारीणी समिति सदस्य तथा पूर्व मन्त्री डा. सुरेन्द्र यादव, चन्द्रेश्वर पासवान, योगेन्द्र राय यादव, सँजिला यादव, मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेश सदस्य साहिद खातुन, जसपा सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादव, जसपा कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ यादव, लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतो, मिर्चैया नगर अध्यक्ष धिरेन्द्र कुमार साह (ललन), आम संचार प्राधिकरणका पुुर्व अध्यक्ष श्याम सुन्दर यादव ,केन्द्रीय आईटी सेल सदस्य प्रभात सिंह (पिन्टु बाबा) लगायतका नेताहरू उपस्थित थिए। त्यस्तै प्रेस मञ्च नेपालका अध्यक्ष देवमान मोक्तान र कार्यवाहक अध्यक्ष मनोज यादव पनि अधिवेशनमा उपस्थित रहे।
मिर्चैयामा सम्पन्न दोस्रो अधिवेशनले प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिलाई पूर्णता प्रदान गर्दै नयाँ नेतृत्व चयन गरेको छ। सहभागी नेताहरूले यसलाई ऐतिहासिक उपलब्धि बताउँदै आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउन प्रतिबद्धता जनाएका छन्।
अधिवेशनमा गाैर हत्याकाण्ड षड्यन्त्र र राष्ट्रिय घाति मानिएको भूमि विधेयकबारे विस्तृत चर्चा भएको थियो। साथै प्रेस मञ्च मधेश प्रदेश समितिको कार्यालय स्थापना सम्बन्धी आश्वासन जसपा नेताहरूले दिएका छन्।

