जसपा नेपाल मधेस प्रदेश अधिवेशन असोज २७–२८ गते जनकपुरमा हुने

सितल साह ,सिरहा ०८२ असाेज ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम मधेस प्रदेश अधिवेशन आगामी असोज २७ र २८ गते जनकपुरधाममा हुने भएको छ । शुक्रबार जनकपुरधाममा बसेको जसपा मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशनको नयाँ मिति तय गरेको हो । बैठक प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकले निर्धारित मितिमै अधिवेशनलाई भव्य र व्यवस्थित ढङ्गले सम्पन्न गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न आह्वान गरेको छ । प्रदेश अध्यक्ष यादवले लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार अधिवेशन सम्पन्न हुने बताउँदै यसलाई सफल बनाउन सबैले सामूहिक प्रतिबद्धता जनाउनु पर्ने धारणा राखे ।
बैठकमा अधिवेशनसँग सम्बन्धित विभिन्न तयारीका एजेन्डा समेत पारित गरिएका छन् । जसअन्तर्गत प्रदेशका आठै जिल्लामा संगठन विस्तारलाई तीव्रता दिने, प्रतिनिधि छनोट प्रक्रियालाई पारदर्शी र समावेशी बनाउने र अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र भावी कार्यदिशा सम्बन्धी प्रतिवेदन तयारी गर्ने निर्णय गरिएको छ ।
अधिवेशन नजिकिँदै जाँदा नेताकार्यकर्ताबीच उत्साह बढेको छ । नेतृत्व छान्ने गृहकार्य तीव्र पारिएको छ भने कार्यकर्ताबीच बहस–चर्चा सुरु भएको छ । यसपटक अध्यक्ष पदका लागि दुई आकांक्षीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव पुनः अध्यक्ष बन्न इच्छुक छन् भने पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव पनि अध्यक्ष पदका लागि बलियो प्रत्याशीका रुपमा अघि आएका छन् । यी दुई नेताबीच नै निर्णायक टक्कर हुने अनुमान गरिएको छ ।
बैठकले अधिवेशनलाई मात्र नभई आगामी दिनमा जसपालाई प्रदेशस्तरमा बलियो संगठनका रुपमा उभ्याउन आवश्यक रणनीति तय गर्ने तयारीसमेत गरेको छ । यस क्रममा प्रदेश स्तरका विभिन्न विभाग र पेशागत संगठनहरुलाई पनि सक्रिय पार्ने निर्णय गरिएको छ ।
यसअघि भाद्र ३१ र असोज १ गते अधिवेशन गर्ने मिति तोकिए पनि Gen-Z आन्दोलनका कारण स्थगित गरिएको थियो । अब नयाँ मिति अनुसार असोज २७ र २८ गते हुने अधिवेशनलाई सफल पार्न जसपा मधेस प्रदेशका नेताहरुले अन्तिम तयारीलाई गति दिएका छन् ।