मिति:- २९ जेष्ठ २०८२, बुधबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

बस्तिपुर मावि पटकपटक विवादमा:विद्यार्थी आन्दोलित,स्थानीय सरकार मौन

सितल साह , सिरहा ,लहान , जेठ १९ ।। लहान नगरपालिका–१४ स्थित बस्तिपुर मावि पुनः विवादको घेरामा आएको छ। विद्यालयमा शिक्षण गुणस्तर र प्रशासनिक लापरबाहीका कारण विद्यार्थीहरू आज बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। कक्षा अवरुद्ध गर्दै विद्यालय परिसरमै प्रदर्शन गरेका उनीहरूले शैक्षिक सुधारका विभिन्न माग राखेका छन्।

विद्यार्थीहरूका अनुसार विद्यालयमा नियमित कक्षा सञ्चालन नहुनु, शिक्षकहरूको अनियमित उपस्थिति, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको अभाव, कक्षा विभाजन (सेक्सन छुट्याउने व्यवस्था) नहुनु, सफा चर्पीको अभाव, टिपिनपछि पढाइ नहुनु, रुटीन अनुसार पढाइ नचल्नु लगायतका समस्याहरू दीर्घकालदेखि कायम छन्। तर विद्यालय प्रशासन तथा प्रमुख शिक्षक (प्र.अ.) देवेन्द्र यादवले पटक-पटक आश्वासन दिए पनि कुनै ठोस सुधार नभएको विद्यार्थीहरूको आरोप छ।

विद्यार्थीहरूले विद्यालय प्रमुख यादवमाथि कक्षा समय मोबाइल चलाउने, वाईफाई प्रयोग गरेर अफिस रुममा बस्ने, शिक्षकहरूलाई पनि यही प्रवृत्तिमा सहभागी गराउने जस्ता गम्भीर आरोप लगाएका छन्। उनीहरूले “यस्तो हेडमास्टर चाहिँदैन” भन्दै हुटिङ पनि गरेका थिए।

केवल विद्यार्थीहरू मात्र नभई, अभिभावकहरू समेत आक्रोशित छन्। स्थानीय अभिभावकहरूका अनुसार प्रअ यादव विगतदेखि नै विवादास्पद छन्। दलित विद्यार्थीहरूलाई सरस्वती पूजा कार्यक्रमबाट बञ्चित गर्नु, पत्रकारहरूसँग दुर्व्यवहार गर्नु, प्लस टु परीक्षामा मोबाइलबाट चिट चोराउन लगाएकाे भन्दै जिल्लाबाट स्पष्टीकरण साेध्नु जस्ता कार्यमा उनको संलग्नता रहेको आरोपसमेत उनीहरूले लगाएका छन्।

स्थानीय सरकार र शिक्षा समन्वय इकाइले यस्ता गम्भीर समस्याप्रति कुनै चासो नदिएको विद्यार्थी र अभिभावकहरूको गुनासो छ। उल्टै लहान नगरका नगर प्रमुख मेयर महेश चौधरी र शिक्षा शाखा प्रमुखले प्र.अ. यादवलाई संरक्षण दिँदै प्रशंसा गरेको आरोप लगाउँदै अभिभावकहरूले निराशा व्यक्त गरेका छन्।
बिद्यार्थीहरुले संयुक्त रुपमा हस्ताक्षर गरी बिद्यालय सुधार , पठनपाठन सुधार सम्बन्धि माग राखी एक बिज्ञपति प्रअ यादवलाई बुझाएका छन जुन माग यथासिघ्र पूरा हुनु पर्ने दाबि गरेकाछन।

यता, प्र.अ. देवेन्द्र यादवले आफू माथि लागेका आरोपको खण्डन गर्दै व्यवस्थापन समिति,वडा,स्थानीय अभिभावक र विद्यार्थीहरूलाई सार्वजनिक सूचना मार्फत चाँडै बैठक आह्वान गरिने र समस्याहरूको समाधान गरिने प्रतिबद्धता जनाएका छन्। तर विद्यार्थीहरूले भने विगत तीन वर्षदेखि यस्ता आश्वासन मात्र पाउँदै आएको, तर व्यवहारमा कुनै परिवर्तन नआएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्।

स्थानीय अभिभावक र विद्यार्थीहरूको एक मात्र माग हो — गुणस्तरीय शिक्षा, उत्तरदायी प्रशासन र निष्पक्ष विद्यालय व्यवस्था।अब लहान नगरपालिका र सम्बन्धित निकायहरूले कस्तो कदम चाल्छन् भन्नेमा सम्पूर्ण नजर केन्द्रित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button