मिति:- २२ मंसिर २०८२, आईतवार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

जिल्ला स्तरीय क्रिकेटको महाभिडन्तमा नवराजपुर गाउँपालिकाको ऐतिहासिक विजय

सितल साह , सिरहा ,३० कार्तिक २०८२ ।। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको बहुप्रतिक्षित फाइनल खेल आज अत्यन्तै रोमाञ्चक तवरले सम्पन्न भएको छ। उपाधिका लागि नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिकाबीच भएको प्रतिस्पर्धा सुरुदेखि अन्त्यसम्म तनाबपूर्ण र दर्शनीय रह्यो। खेल अघि नै नवराजपुर गाउँपालिकाले आफ्ना खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्पूर्ण खेलप्रेमी जनसमुदायलाई मैदानमा उपस्थित रहन आग्रह गरेको थियो। व्यापक उपस्थिति र उत्साहपूर्ण समर्थनका कारण मैदानको वातावरण झनै ऊर्जाशील बनेको थियो।

फाइनल खेलमा नवराजपुर गाउँपालिकाले उत्कृष्ट रणनीति, खेल कौशल र उच्च स्तरको समन्वय प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भयो। प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै बलियो खेल प्रदर्शन गर्दै आएको नवराजपुर टोलीले अन्तिम क्षणसम्म संघर्षगरी प्राप्त गरेको यो विजयले गाउँपालिकाभरि अपार खुसी छाएको छ। यो जित केवल एउटा उपाधि मात्र नभई नवराजपुर गाउँपालिकाको गौरव, पहिचान तथा खेलकुदप्रतिको समर्पणको चम्किलो उदाहरण बनेको छ।

नवराजपुरका खेलाडीहरूको अथक प्रयास, प्रशिक्षकको सूझबुझपूर्ण प्रशिक्षण तथा व्यवस्थापन टिमको निरन्तर सहयोगले यस यात्रालाई सफल बनाउने प्रमुख भूमिका खेल्यो। यसका साथै मैदानभित्र र बाहिरबाट निरन्तर उत्साह, समर्थन र प्रेरणा दिने सम्पूर्ण जनसमुदायप्रति गाउँपालिकाले विशेष आभार व्यक्त गरेको छ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव (शिवा) ले यस ऐतिहासिक विजयमा योगदान पुर्‍याउने सबै खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा समर्थकहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा खेलकुद विकासका कार्यक्रमलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले खेलकुद क्षेत्रलाई सशक्त र परिणाममुखी बनाउँदै युवा प्रतिभाहरूलाई अझ धेरै अवसर दिलाउने योजनामा गाउँपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो।

जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा हासिल भएको यो उपाधिले नवराजपुर गाउँपालिकाको नाम उज्यालो बनाएको छ र जिल्ला खेलकुद क्षेत्रमा नयाँ उत्साह, उमङ्ग र प्रेरणा थपेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button