मिति:- २० मंसिर २०८२, शुक्रबार | Email:- info@jantakhabar.com | marketing@jantakhabar.com | Contact No.:- +977 981-9757097
Uncategorized

मिथिला रत्न दैनिकका सम्पादकमाथि ज्यान मार्ने धम्की:सिरहामा प्रेस स्वतन्त्रतामाथि गम्भीर चोट

पत्रकार लाई ज्यान मार्ने धम्कि

सितल साह , लहान ,सिरहा , १४ मंसिर ०८२ ।। सिरहामा कार्यरत मिथिला रत्न राष्ट्रिय दैनिकका सम्पादक तथा एभिन्युजका सिरहा संवाददाता शिव दयाल यादवमाथि खुलेआम ज्यान मार्ने धम्की दिइएको घटना प्रकाशमा आएपछि स्थानीय पत्रकारिता जगत आक्रोशित बनेको छ। पत्रकारितामूलक एक भिडियोप्रति असन्तुष्टि जनाउँदै माहालक्ष्मी ज्वेलर्सका सञ्चालक राजु साहले सम्पादक यादवलाई अपशब्दसहित ज्यानै लिने चेतावनी दिएका छन्। “भिडियो किन हालेको?” भन्दै गरिएको यस्तो धम्कीले पत्रकार मात्र होइन, सर्वसाधारणमा समेत गम्भीर सुरक्षा चिन्ता उत्पन्न भएको छ।

स्वतन्त्र र निष्पक्ष पत्रकारिताको मूल आत्मामै प्रहार गर्नेगरी गरिएको यस कृत्यलाई प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हमला मानिएको छ। तथ्य, समाचार र जनचासोका विषय उजागर गर्नु पत्रकारको दायित्व हो। तर सत्य सार्वजनिक गर्ने क्रममा पत्रकारमाथि डर, त्रास र दबाब सिर्जना गर्नु लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर चुनौतीका रूपमा देखिएको छ।

पत्रकार महासंघका अनुसार स्वतन्त्र र निष्पक्ष पत्रकारितामा हस्तक्षेप हुनेगरी गरिएको यस्तो धम्की प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार मात्र नभई सत्यतथ्य सार्वजनिक गर्ने पत्रकारको दायित्वमा बाधा पुर्‍याउने गम्भीर कार्य हो। समाचार लेख्ने र तथ्य उजागर गर्ने क्रममा पत्रकारलाई डर, त्रास र दबाब सिर्जना गर्नु पूर्ण रूपमा निन्दनीय छ भन्ने महासंघको भनाइ छ।

महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले घटनाको कडा भर्त्सना गर्दै दोषीमाथि तत्काल छानविन शुरू गरी कानुनी कारबाही अगाडि बढाउन जोडदार माग गरेका छन्। साथै सम्पादक यादवको सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित सुरक्षा निकायलाई तुरुन्त आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

हालैका वर्षहरूमा सिरहामा पत्रकारमाथि धम्की, दुर्व्यवहार र दमनका घटनामा वृद्धि हुँदै गएको देखिँदा पत्रकारिताको सुरक्षित वातावरणमै प्रश्न उठ्न थालेको छ। यस्ता घटनाले सत्यतथ्य सार्वजनिक गर्ने पत्रकारहरूको मनोबल कमजोर पार्ने मात्र होइन, लोकतान्त्रिक समाजमा प्रेसको भूमिकासमेत कमजोर पार्ने गम्भीर चिन्ता व्यक्त गरिएको छ।

स्थानीय पत्रकार समुदायले समाजलाई सत्यतर्फ दिग्गर राख्ने कलममाथि गरिएको धम्कीलाई कुनै पनि हालतमा सहन नहुने भन्दै छरितो छानविन र कडा कारबाहीको माग गर्दै ऐक्यबद्धता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button