मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल दुई–तिहाई बहुमतले पदमुक्त

सितल साह, सिरहा, ०३ मंसिर ०८२।। मधेश प्रदेश सभाका सभामुख माननीय रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको आरोपमा बुधबार, मिति २०८२/०८/०३ गते प्रदेश सभाबाट दुई–तिहाई बहुमतले पदमुक्त भएका छन्। प्रदेश सभाको आजको बैठकमा दर्ता भएको पदमुक्तिको प्रस्ताव बहुमतले पारित गरिएको हो।
सभामा उपस्थित ७८ जनामध्ये सभामुखलाई पदमुक्त गर्न कुल ७६ मत पक्षमा परेका थिए। विपक्षमा एक मत पनि नपरेपछि प्रस्ताव निर्विरोधजस्तै रूपमा पारित भएको मानिएको छ। कुल सदस्य संख्याको दुई–तिहाई आवश्यक पर्नेमा ७२ भन्दा बढी मत परेकाले प्रस्ताव स्वीकृत भएको प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाले जानकारी दिए।
सभामुख मण्डलविरुद्धको प्रस्ताव प्रस्तावकहरु मध्ये सांसद माननीय कुमर कान्त झाले पेश गरेका थिए। नियम १८० बमोजिम दर्ता गरिएको प्रस्ताव नियम १८२(४) अनुसार प्रदेश सभाको दुई–तिहाई मतले पारित भएपछि नेपालको संविधान धारा १८२(६)(ग) अनुसार सभामुख रामचन्द्र मण्डल स्वतः पदमुक्त भएका हुन्।
राजनीतिक विश्लेषकहरूको मतमा यो कदमले मधेश प्रदेशमा देखिदै आएको “अलोकतान्त्रिक प्रवृत्ति हटाउने दोस्रो महत्वपूर्ण कदम” सफल भएको जनाइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यताको कदर गर्ने दिशामा यो निर्णय प्रभावकारी बन्ने जनप्रतिनिधिहरूले बताएका छन्।
यससँगै मधेश प्रदेश सभामा सभामुख पद खाली बनेको छ र अब नयाँ सभामुख चयनका प्रक्रिया अगाडि बढ्ने बताइएको छ।
