जलेश्वरमा दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायकाे परिसंघ सम्बन्धी बृहत् अन्तर्क्रिया सम्पन्न

सितल साह ,सिरहा, २२ कार्तिक ०८२।।
महोत्तरीको जलेश्वरमा दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायमाथि भइरहेकाे आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्न लक्षित जिल्ला स्तरीय बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उत्पीडित समुदायकाे राष्ट्रिय पहिचानकाे मान्यता स्थापित गर्न, जनसंख्याकाे आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न, मानव अधिकारकाे प्रत्याभूति दिलाउन, सबै नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न, रोजगारीको अवसर सृजना गर्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न तथा समानता र सामाजिक न्यायको प्राप्तिका लागि साझा प्रतिबद्धता जाहेर गरिएको थियो।
कार्यक्रमको अध्यक्षता परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानले गर्नुभएको थियो भने प्रमुख आतिथ्यका रूपमा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव उपस्थित रहनुभएको थियो।

अन्तर्क्रियामा दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायसँग सम्बन्धित संघ–संस्था, संगठन र अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न र राज्यका हरेक संरचनामा समान प्रतिनिधित्वको माग गर्दै, एकीकृत आन्दोलनकाे आवश्यकता औंल्याएका थिए।
कार्यक्रमले नेपालमा विद्यमान विभेद र असमानताकाे अन्त्यका लागि सबै समुदायबीच एकता, साझा सोच र नीतिगत सुधारकाे मार्ग खुल्ने अपेक्षा गरिएको छ।